भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप

२०७७ माघ २८ बुधबार, काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पीपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पीपीआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पीपीआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।

राष्ट्रिय पीपीआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीको भनाइ छ । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पीपीआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पीपीआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उनले भने, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।” रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार