ऐनामा विश्वप्रकाश शर्मा

२०७७ माघ २८ बुधबार, काठमाडौं । विश्वप्रकाश शर्मालाई धेरैले नेपाली काँग्रेसका नेता तथा प्रवक्ताका रुपमा चिनिन्छन् । उनको सञ्चार माध्यमसङ्गकाे परिचय  थोरैलाई मात्र थाहा छ ।

शर्माको सञ्चार क्षेत्रसंग निकै घनिष्ठ सम्बन्ध छ ।  शर्माले सम्पादक भएर रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका छन् । साहित्यतर्फको रुझानले उनलाई कवि, गीतकार, कथाकार र सङ्गीतकारको रूपमा पनि परिचित गराएकाे छ । शर्माले लकडाउनकै समयमा गीत लेखे, सङ्गीत भरे र रेकर्ड गराएर सार्वजनिक गरे । उसाे त उनले यसअघि पनि गीत लेख्ने र सँगित भर्ने काम गरिरहेका थिए ।

पछिल्लाे केही हप्तादेखि शर्माले नयाँ परिचय पनि थपिरहेका छन् । उनी सामाजिक र मानवीय मुद्दामा केन्द्रित रहेर बनाइएको र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘ऐना’ को प्रस्तोताको रूपमा देखा परेका छन् ।

“शर्माका अनुसार यो राजनीतिलाई नै घचघच्याउने र खबरदारी पनि गर्ने कार्यक्रम हो ‘ऐना’को बारेमा शर्मा भन्छन्, “यो काँग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन । यसमा राजनीतिक रङ्ग हुँदैन, म प्रस्तोता हुँ।”

अमनप्रताप अधिकारीद्वारा निर्देशित यस कार्यक्रममा प्रकाश लामिछाने विषय खोजी कार्यमा छन् भने स्क्रिप्ट राइटर आन्विका गिरी छन् । त्यस्तै अनुसन्धान टिममा भानु बोखिम,  महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् । दि होराइजन मल्टी मिडियाद्वारा निर्मित कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल हुन् ।

कसरी र किन बन्यो ऐना ?

भारतीय अभिनेता आमिर खानको प्रस्तुति रहेको ‘सत्यमेव जयते’ बाट प्रभावित लाग्छ ‘ऐना’ । निकै नै प्रभावशाली रहेको उक्त कार्यक्रमले समाजका लुकेका यस्ता पाटाहरू उजागर गरेको थियो जसले गर्दा उठाइएका विषयहरू माथि सान्दर्भिक कानुनी बहस पनि चलेको थियो ।

सोही टिमसँग भारतमा रहँदा समय बिताएका राधाकृष्ण धिताललाई पनि सोही अनुरूपको कार्यक्रम नेपालमा पनि आवश्यक रहेको महसुस भएपछि ‘ऐना’को नेपाली अवधारणा तयार भएको उनी बताउँछन् ।

ऐनाको काम भनेको अगाडी रहेको सत्य परावर्तन गर्ने हो । सोही अवधारणाका बिच समाजको परावर्तन दर्साउन, समाजमै रहेका तर नागरिक बिच लुकेका, दबाइएका र उपेक्षित विषय उठान गर्ने जमर्को गरेको धितालकाे भनाइ छ ।

हालका समय रियालिटी सोहरू प्रति नेपाली जनमानसको झुकाव रहेको बेला ऐनालाई पनि केही हदसम्म दर्शकहरूको चाहना अनुरूप ढालिएको निर्माण समुहले बताएकाे छ ।

ऐनाका बारेमा कार्यक्रमको अवधारणा भन्दा पनि प्रस्तोता विश्वप्रकाश शर्माका बारेमा धेरै नै चासाे र प्रश्नहरु रहेकाे निर्माण युनिट बनाउँछ । यसबारेमा धिताल भन्छन्, “नयाँ पुस्ता माझ विश्वप्रकाश राजनीतिज्ञ होइन, पुराना पुस्तामाझ उनी राजनीतिज्ञका साथै सञ्चारकर्मी पनि हुन् । यसै खाडललाई जोड्न पुलको काम गर्न सक्ने विश्वासले गर्दा नै, शर्मा कार्यक्रमकाे प्रस्तोताको रूपमा रहनुभएकाे हाे ।”

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार