‘मिस्टर केपी ओली तपाईंको जमानत जफत हुनेछ’

२०७७ माघ २८ बुधबार, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले चुनावमा केपी ओली पक्षको जमानत जफत हुने दाबी गरेका छन् । नेकपाको दाहाल नेपाल पक्षले काठमाडौँमा गरेको विरोध सभालाई सम्बाेधन गर्दै बरिष्ठ नेता खनालले दुई बर्षपछि हुने चुनावमा ओली स्वयम र उनको पक्षको देशैभरि जमानत जफत हुने दाबी गरेका हुन् ।

ओलीले केही दिन अघिको सभामा अबको चुनावमा दुई तिहाई बहुमत ल्याउने जिकिर गरेको तर्फ संकेत गर्दै उनले ओलीको यो जिकिर भँगेराले बाँस नुहाएको भ्रम पाल्नुजस्तै रहेको बताए । ‘मिस्टर केपी ओली तपाईंको जमानत जफथ हुनेछ, हामीले तपाईँका खुट्टि हेर्दै थाहा पाइसक्यौँ ।’ खनालले भने ।

उनले केपी ओलीलाई अब माक्र्सबाद, विज्ञान केहीमा पनि विश्वास नभएको तर पशुपतिनाथको मुर्तिमा विश्वास गर्ने अवस्थामा पुगेको आरोप पनि लगाए ।

खनालले आजको सभामा भएको उपस्थिती हेरेर नेकपाको आधिकारिता आफुहरुलाई दिन पनि माग गरे । निर्वाचन आयोगका आयुक्तहरुलाई कुन पक्ष आधिकारिक हो भन्ने छिनोफानो गर्न सकस भएको भन्दै खनालले आजको सभाबाट त्यो अन्योल हटेको जिकिर पनि गरे । ‘सम्मानित आयुक्तहरु आधिकारिक पार्टी भनेको कहाँ छ ? भन्ने हेर्न प्रदर्शनीमार्ग वरिपरि आउनुहोस यहाँ आज काठमाडौंको सारा सडकमा पोखिएको छ । यो भन्दा अर्को आधिकारिक हुन सक्दैन । यो उपस्थितीले आधिकारिकताको प्रमाण दिएको छ ।’

खनालले कानून र प्रक्रिया मिलाएर पार्टीको आधिकारिकता घोषणा गर्न ढिलाई नगर्न खनालले आग्रह गरे । ढिलाई गर्दा अप्ठ्यारो हुन सक्ने खनालको भनाइ छ । खनालले यो कुरा बुझ्न आयुक्तहरुलाई आग्रह गरे । तर पार्टीको आधिकारिकता निक्र्यौल गर्न ढिलाई हुँदा के अप्ठ्यारो हुन्छ भन्ने चाहिँ खनालले बताएनन् ।

आफुहरु प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन नभएर केपी ओलीले विगारेको लोकतन्त्रलाई सही बाटोमा ल्याउन लडिरहेको खनालको दाबी छ ।

अब देशलाई समाजबादमा लैजान आफुहरु लडिरहेको उनको भनाइ छ । खनालले ओलीको कदमविरुद्ध मिलेर आन्दोलन गर्न कांग्रेस लगायत दललाई आग्रह पनि गरे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार