‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’

२०७७ फाल्गुन ५ बुधबार, काठमाडौं । एमीकस क्युरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमतको प्रधानमन्त्रीलाई रहेको तर्क गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै मैनालीले संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि रहेको बताउनुभयो ।

कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको पनि उहाँको तर्क थियो ।

‘सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ । म प्रधानमन्त्री हुँदैन भन्ने गणेशमान सिंहजस्ता मान्छे पनि छन् नि नेपालमा’, उहाँले भन्नुभयो ।

संविधान लेखनका क्रममा त्रुटि रहेको मैनालीको भनाइ थियो । कुनै पनि दलले सरकार गठन गर्दैन भनेमा के गर्ने भन्ने व्यवस्था नलेखिएको उहाँले बताउनुभयो ।

त्यस्तै, प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक विवादमा पनि संसद् विघटन गर्ने अधिकार राख्ने मैनालीको तर्क थियो । ‘जब पार्टीभित्र जन्जाल, समस्या उत्पन्न हुन्छ । सरकारको काममा बाधा नआओस् भन्नका लागि संसद् विघटन गर्ने हो’, उहाँले भन्नुभयो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार