छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ

२०७७ फाल्गुन १२ बुधबार, काठमाडौं । हानीकारक प्रथा र परम्पराको रूपमा नेपाली समाजमा अझैपनि सक्रिय रुपमा कायमै रहेको प्रथा हो छाउपडी प्रथा, जुन प्रथा लैंगिक हिंसासँग प्रत्यक्ष सम्बन्धित छ। नेपाली समाजमा व्याप्त यो सामाजिक कुप्रथाले नेपाली महिलाहरुको समग्र पक्षमा असर गरिरहेको कुरा हामी सबैलाई अवगत नै छ। छाउपडी प्रथालाई ठाउँ अनुसार विभिन्न शब्दले सम्बोधन गरिन्छ, महिनावारी, छुई भएको, बाहिर भएको, छाउ भएको आदि। यो प्रथालाई विश्वव्यापी रुपमा समाज, भुगोल र धर्मअनुसार विभिन्न तरिकाले महिलाहरुले बार्ने गरेको पाईन्छ, कतै कडा रुपले त कतै सहज तरिकाले यस्लाई लिने गरेको पाईन्छ। नेपालमा पनि यो प्रथालाई महिलाहरुले विभिन्न तरिकाले बार्ने गरेको छ भने काठमाडौंमै बस्ने पढे लेखेका शिक्षित महिलाहरुले पनि महिनावारी हुँदा बारेको पाईन्छ। यो प्रथा विशेष गरि नेपालको सुदुरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा जिल्ला लगायत विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा लगायतका जिल्लाहरुमा झनै बढि कडाईका साथ बार्ने प्रचलन यथावत छ।

महिला भएकै कारण हुने महिनावारी सुदूरपश्चिम जिल्लाहरुका शहरी तथा ग्रामीण क्षेत्रका महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वासयुक्त परम्परा अहिले पनि कायमै छ। म विगत केहि महिना देखि परियोजनाका कृयाकलापहरु कार्यान्वयनको शिलशिलामा सुदुरपश्चिम प्रदेशका केहि जिल्लाहरुमा जाने आउने गरिराखेकी छु। यसरी यी जिल्लाहरुमा जाँदा बुझेकि यो कुप्रथालाई अहिले पछिल्लो समयमा सुदुरपरिश्चम प्रदेशका तराईका जिल्लाहरुमा बस्ने थारु समुदायका महिलाहरुले पनि सिको गरेका रहेछन। यती ठुलो मात्रामा शिक्षाको विकास हुँदा, जनचेतनाका कार्यक्रम संचालन गर्दा, रेडियो, एफ एमबाट छाउपडिप्रथा हानीहारक प्रथा र परम्पराको उपज हो भनि प्रसारण हुँदा समेत या प्रथा न्युनिकरणको हुनुको साटो झन विस्तार हुँदै जानु आफैंमा लज्जास्पद बिषय हो।

यस अबस्थामा सुत्केरी वा रजस्वला भएकी महिलालाई घरभन्दा अलिक पर निर्माण गरिएको सानो,अध्यारो र प्रसस्त हावा नआउने झुपडीमा बस्न लगाइन्छ, जस्लाई “छाउगोठ” अथवा ’छाउपडी कुडी’ पनि भनिन्छ जुन महिलाको स्वास्थ्य र सुरक्षाको दुष्टिकोणले उपयुक्त हुँदैनन्। डोटीमा त मैले यस्ता गोठहरु जंगलको छेउमा पनि देखे जो घरदेखि निकै पर निर्माण गरिएका थिए र सुने त्यहाँ महिलाहरु महिनावारी हुँदा एक्ले बस्छन अरे! त्यहाँ जंगली जनावरको डर, घाम नलाग्ने चिसो ठाउँ यहि कारणले हामीले बेला बखत पत्रपत्रीकामा पढन पाउछौ, रेडियोमा सुन्छौ छाउगोठ बसेकी महिलाको कठाग्रीएर निधन। महिलालाई पशुभन्दा कम अन्यायपुर्ण व्यवहार भएको छैन।

महिलाहरु महिनावारी हुँदा गरिने यो विभेदपूर्ण व्यवहारले महिलाको शरीरिक, मानसिक तथा उनीहरुको समग्र पक्षको बिकासमा बाधकको रूपमा रहेको छ।। महिनावारी जस्तो महिलाको मात्रै शरिरमा हुने समान्जनक प्रक्रियामा उनीहरुलाई गरिने बिभेदपूर्ण व्यवहारले महिलाको समग्र पक्षमा असर गर्छ। उनलाई पोषिलो खानेकुरामा विभेद गरीन्छ, सुरक्षित ठाउमा बस्न मनाहि छ, हिडडुलमा बन्देज छ। शारिरीक रूपमा कमजोर भएको समयमा शरीरिक रूपमा गार्हो हुने काममा लगाइन्छ तथा सुनिन्छ कतै कतै त स्कूल पढ्ने किशोरीलाई स्कूल जानबाट पो वञ्चित गरिन्छ रे, कारण उनीहरूका देउता रिसाउँछन् रे। मानिसको शरीरिमा हुने अरु नियमित प्रक्रियाहरु (दिसा,पिसाव) हुँदा भगवान नरिसाउने तर त्यस्तै प्रकृया मध्येको एक प्रकृया महिनावारी हुँदा किन भगवान रिसाउँछन होला अच्चम्मको रुढिबादी मानसिकता। यो त उमेरसँगसँगै देखिने प्रकृया हो, जो महिलाहरुको गर्बको विषय पनि हो । उमेरसँगै हुने यस्ता प्रकृया जस्तै पुरुषहरुको दाह्रि, जुँगा आउदा पुरुषमाथि विभेद नहुने तर उमेरसँगै हुने यो महिनावारीमा भने महिलालाई किन विभेद?
हामीले कतिपय समयमा सुनेका छौँ महिनावारी भएको बेला महिलाहरु अलग्गै छाउगोठमा बसेका बेला महिलाहरूमा पटकपटक अप्रीय घटना भएको। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिलाहरु यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने, घर छिर्न नपाउने, घरभित्रको काम गर्न नपाउने, पुजापाठ गर्न नपाईने, मन्दिर जान नपाईने, शुभकार्यमा सहभागी हुन नपाउने यो कस्तो प्रथा र परम्परा हो जस्ले महिलाहरुको आत्मसम्मानमा प्रत्यक्ष चोट पुर्याएको छ, शारिरीक, मानसिक रुपमा असर गरेको छ जस्ले गर्दा उनीहरुलाई हेपेर, थिचेर, हिंसा गर्ने तथा दोस्रो दर्जाको नागरिकको रुपमा लिईएको छ। यस्को विरुद्धमा आवाज उठाउँने कि नउठाउने?

हाम्रा धर्मशास्त्रहरुमा महिलाहरु महिनावारी भएको समयमा मन्दिर जान हुँदैन भनेर कतै उल्लेख भनेको देखिदैन । पर बस्नु मात्र भनेको छ जो उनीहरुलाई महिनावारी हुँदाको समयमा दिएको छुट्टी हो , कारण महिनावारी भएको समयमा कमजोर हुन्छौ भनेर आराम गर्न दिएको अवस्था हो । हाम्रा पुर्खाहरुले प्रचलनमा ल्याएका संस्कार तथा संस्कृती पछाडीको ज्ञानलाई सोच्ने बानी गरौं। महिनावारीमा महिलाहरु अपवित्र हुँदैनन । मन्दिर भन्दा पवित्र तथा संवेदनशिल हुन्छन र त्यो समयमा मन्दिर नजाउ भन्नुको पछाडिको वैज्ञानिक कारण पहिला मन्दिरहरु निकै टाढा हुन्थे। जंगलको बाटो धेरै हिडेर जानु पर्दथ्यो। यस्तो समयमा महिनावारी भएका महिलाहरु जँगलको बाटो हिडेर जाँदा जँगलमा जंगली जनावरले उनीहरुको शरिरबाट बगेको रगतको गन्धले आक्रमणमा पर्ने बढि जोखिम हुने गर्दथ्यो। यस्तो किसिमको डरलाग्दो अवस्थाबाट जोगाउन उनीहरुलाई मन्दिर जान रोक लगाईएको थियो।

अर्को कुरा घरबाट टाढा रहेका मन्दिरको दर्शन गर्न घण्टौं लगाएर हिडेर गएर मन्दिरमा नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार भएर जाने गरिन्थ्यो । महिनावारीमा मन्दिर केहि नखाई भोकै घण्टौं साधना गर्दा महिलाहरुको स्वास्थ्यमा असर पर्छ। तिमी झनै कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो । समय वित्दै जाँदा कालान्तरमा यो निषेधको रुपमा बुझियो । भारतमा काम्ख्या मातालाई नै महिनावारी हुन्छ । यस्तो समयमा उनको पुजा गरिन्छ। हिन्दु समाजमा महिलालाई देवि, सरस्वति तथा लक्ष्मिको प्रतिकको रुपमा लिईन्छ। नारीहरु महिनावारी हुँदा अछुत वा अयोग्य हुदैनन्, मन्दिर भन्दा पनि पवित्र हुन्छन। मन्दिर बनाउने मान्छे जन्माउने पनि नारी नै हुन। नारीहरु जुनसुकै बेला पनि मन्दिर जान सक्छन, किन नजान भनियो वैज्ञानिक दृष्टिकोणबाट हेर्ने गरौं ।

मुलुकी अपराध संहिता २०७४ ले छाउपडी प्रथालाई दण्डनीय मानी छ छाउपडीमा राख्ने वा दबाब दिनेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ तर कानून बनेको यतिका वर्षसम्म कसैले उजुरी गर्न सकेनन् कारण समाज र परिवारबाट अलग हुनुपर्ने डरले महिलाहरू चुपचाप महिनावारीको पीडा सहिरहेका छन् । छाउपडी प्रथाविरुद्ध जनस्तरबाट आवाज उठ्नुपर्छ सरकारले बृहत व्यापक जनचेतनाको कार्यक्रम चलाउनु पर्दछ। त्यहाँका छोरी, बुहारीले छाउ प्रथाविरुद्ध बोल्न नसकुन्जेल छाउपडी प्रथा हट्न सम्भव छैन । आज छाउगोठ भत्काएर छाउपडी मुक्त घोषणा गरिएका गाउँ केही दिन मै छाउगोठयुक्त बन्ने छन् । अशिक्षा, जनचेतनाको अभाव, सरसफाईको अभाव र स्वाथ्य सेवाको अभाव भोगिरहेका ती गाउँहरूमा जब कोही बिरामी हुन्छ, पहिले उ धामी र पुरोहित कहाँ पुग्छ, अनि देउता रिसाएको देखिन्छ । कारण छाउ नबारेको देखिन्छ । अर्थात महिनावारी भएका बेला महिला घरमा बसेकोले त्यस्तो संकट आएको निक्र्यौल गरिन्छ । छाउपडी कुप्रथाले अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर झुकाउने काम गरेको र मुलुकमै पनि सुदुरपश्चिम क्षेत्रलाई सामाजिक रुपमा फरक रुपमा हेर्ने अवस्था अन्त गर्न यो प्रथा अन्त्य हुनैपर्दछ।

महिनावरी हुनु भनेको अपराध नभई बच्चा उत्पादनको लागि महिला सक्षम भएको अवस्था हो। महिनावारीलाई घृणाको रुपले होईन मर्यादाले हेरौं। आज महिनावारीलाई मर्यादित बनाउन हामी सबै एक जुट हुनु आवश्यक छ । मर्यादित महिनावरी सबैको जिम्मेवारी हो। अझ पुरुषहरुले यो प्रथा बिरुद्ध बोल्नु आबश्यक छ किनकी लैगिक बिभेद तबसम्म अन्त हुदैन जबसम्म पुरुषहरुको साथ र सहयोग हुँदैन। पितृसतात्मक सोच र मानसिकताका कारण पुरुषहरुको कुरा सुनिने र उनीहरुले भनेका कुराहरु छिटै लागु हुन्छन। त्यसैले आज लैंगिक समानता कायम गर्न र महिलाहरुको नेतृत्व विकास गर्न पुरुषहरुको साथ र सहयोग अति नै आवश्यक छ।

देबका के.सी
लैगिक तथा समाबेशी सुसासन बिज्ञ
जुरी नेपाल

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार