सिरियाली गृहयुद्धका १० वर्ष : किन अझै धुमिल छ शान्तिको आशा ?

२०७७ फाल्गुन २९ शनिबार, काठमाडौं । सेहम हामुले सन् २०१६ मा इराकको डोउमास्थित घरमा क्षेप्यास्त्र आक्रमण हुँदा आफ्ना पति, छोरा र नातिनी गुमाइन् । सिरियाली राजधानी नजिक विद्रोहीको बलियो उपस्थिति रहेको डोउमामा विगत १० वर्षको अवधिमा भीषण लडाईं भएका छन् । अहिले ७४ वर्ष पुगिसकेकी सेहमले छोराका चार बालबच्चा, एउटी बिधवा छोरी र माहिली छोरी ज्वाइँ र उनीहरुका बालबच्चाको हेरचाह गर्ने जिम्मेवारी छ । सिरिया गृहयुद्धको १० वर्षका बारेमा रोयटर्समा छापिएको यो एउटा प्रतिनिधि घटना मात्र हो ।

लोकतन्त्र र उदार शासन प्रणालीका निम्ति खाडी राष्ट्रका नागरिकले सन् २०११ मा शुरु गरेको बहुचर्चित “अरब स्प्रिङ”का नामले परिचित अरब क्रान्तिले खाडी मुलुकहरुमा केही सुधार त ल्यायो, तर सिरिया, लिबिया जस्ता मुलुक गृहयुद्धको दलदलमा दशौं वर्षदेखि नराम्रोसँग फसेका छन् । सिरियामा मार्च १५, २०११ मा शुरु भएको जनताको स्वाभाविक विरोध प्रदर्शन सिरियाली राष्ट्रपति बसार अल असदको क्रुर दमनको चपेटामा परेको थियो, र त्यो आज पर्यन्त जारी छ । देशी, विदेशी शक्तिकेन्द्रको क्रिडाभूमिमा परिणत भएको यो गृहयुद्ध बहुआयामिक छ, र अरब क्षेत्रमै सैनिक र सामरिक दृष्टिबाट निकै शक्तिशाली मानिने सिरियालाई अहिले छिन्नभिन्न पारेको छ ।

कसरी शुरु भयो गृहयुद्ध ?

siria.jpg

लामो समय शासन गरिसकेका सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै आमजनताले शान्तिपूर्ण विरोध प्रदर्शन शुरु गरेका थिए । देशव्यापी यी प्रदर्शनमा लाखौं जनता सहभागी भएका थिए । केही प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । सिरियाली जनताको प्रदर्शनमा छिमेकी मुलुक र अन्य शक्तिराष्ट्रले समर्थन गरेका थिए । विरोध प्रदर्शनलाई दबाउने नाममा सरकारले निर्मम शक्ति प्रयोग गर्न थालेपछि शसस्त्र विद्रोह शुरु भएको थियो । गृहयुद्धको रुप लिएको राष्ट्रपति असद विरुद्धको यस युद्धमा मुख्यतः चार पक्ष सहभागी थिएः सिरियाली सेना र यसको गठबन्धन (फ्रि सिरियन आर्मी), सलाफी जिहादी समूह (अल नुस्रा र तहरिर अल–शाम समूह समेत), कुर्दिस–अरब सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) र इराकी इस्लामिक स्टेट समूह । यी विभिन्न समूहलाई इरान, इजरायल, रुस, टर्की, संयुक्त राज्य अमेरिका समेतका मुलुकले प्रत्यक्ष वा परोक्ष सहायता उपलब्ध गराएका छन् ।

siriya 2.jpeg

इरान, रुस र हेज्बोल्लाह राष्ट्रपति असदको पक्षमा लडिरहेका छन् जहाँ रसियाले सन् २०१५ देखि विद्रोहीका अखडाहरुमा भीषण हवाई कारबाही गरिरहेको छ । इस्लामिक स्टेट विरुद्धको कारबाहीको नाममा संयुक्तराज्य अमेरिकाले सन् २०१४ देखि गठबन्धन बनाएर इस्लामिक स्टेट समूहका साथै सिरियाली सेना र सिरियाली सेना समर्थित लडाकू समूहमाथि लक्षित गरी आक्रमण गरिरहेको छ । सन् २०१५ देखि सिरियाको उत्तर र पूर्वी भागमा स्वायत्त क्षेत्र स्थापना गरी एसडिएफलाई आर्थिक, प्राविधिक, सैनिक समेतका सबै सुविधा उपलब्ध गराएको छ । टर्कीले भने एसडिएफ, इस्लामिक स्टेट र सिरियाली सेना विरुद्ध आफ्नो सीमाक्षेत्रमा आक्रमण गरिरहेको छ । टर्कीले सिरियाली विपक्षीलाई पनि मद्दत गरी सिरियाको उत्तरपश्चिम क्षेत्रको ठूलो भूभागमा परोक्ष नियन्त्रण कायम गरेको छ । पछिल्लो विवरण अनुसार सिरियाली सेनाको नियन्त्रणमा देशको करिब ६४ प्रतिशत भूभाग मात्र छ भने एसडिएफको करिब २६ प्रतिशत, अन्य विद्रोही र टर्कीको नियन्त्रणमा १० प्रतिशत भू–भाग छ ।

इजरायलले पनि सिरियाभित्र सक्रिय इरानी र हेज्बोल्लाह लडाकूमाथि कारबाही गर्ने नाममा हवाई आक्रमण गर्ने गरेको छ ।

मानवीय र भौतिक क्षति

सिरियाली भूमिमा सक्रिय विभिन्न सशस्त्र समूह, रुस र अन्य राष्ट्रका सेनाले गर्ने हवाई कारबाही तथा सरकारी फौजको व्यापक परिचालनले सिरियाभित्र चरम मानवीय र भौतिक क्षति भइसकेको छ । राष्ट्रसंघ र सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार यहाँ मानव अधिकारको चरम उल्लंघन हुनुका साथै आममानिसको कत्लेआम गरिएको छ । राष्ट्रसंघका अनुसार सिरिया युद्धमा हालसम्म करिब चार लाखको ज्यान गइसकेको छ भने सन् २०१५ सम्ममा कूल जनसंख्याको झण्डै आधा हिस्सा अर्थात करिब एक करोड ९ लाख मानिस विस्थापित भएका छन् । यी मानिसहरु लेबनान, जोर्डन, टर्की र इराकतिर भागेका थिए । टर्कीमा मात्र १७ लाख मानिसले आश्रय लिएका छन् । क्लस्टर बम, विशाल सैन्य कारबाही, अन्धाधुन्ध क्षेप्यास्त्र प्रहार र गोली समेत सबै किसिमका परम्परागत तथा सिरियाली सेनाले नै चलाएको तथाकथित रासायनिक हतियारले यी मानिसको ज्यान गएको हो । लाखौं शरणार्थी विभिन्न युरोपेली मुलुकमा पुगेका छन् र युरोपका कैयौं देशलाई सिरियाली शरणार्थी टाउको दुखाईको विषय बनेका छन् ।

सिरियामा गृहयुद्ध सक्रिय अवस्थामै रहेका कारण कति भौतिक क्षति पुगेको छ भन्ने स्पष्ट विवरण सङ्कलन निकै कठिन र चुनौतीपूर्ण छ । तैपनि, राष्ट्रसंघले गरेको अनुमान अनुसार करिब चार खर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । पुनर्निर्माणका लागि आवश्यक स्रोत, साधन जुटाउन अहिलेकै अवस्थामा सिरियालाई निकै कठिन छ । आर्थिक रुपमा तुलनात्मक रुपमा कमजोर अवस्थामा रहेका सिरियाका मित्रराष्ट्रहरु इरान र रसियाले पुनर्निर्माणका लागि गर्ने सहयोग पक्कै पनि सिरियालाई अपर्याप्त हुनेछ । तर अन्य राष्ट्रको सहयोग प्राप्त गर्न असदको सत्ता बाधक हुने स्वतः देखिन्छ ।

अबको निकास के ?

फेब्रुअरी २०११ मा अमेरिकाका तत्कालीन उपराष्ट्रपति जो बाइडेनले एउटा समारोहमा सम्बोधन गर्दैआधारभूत स्वतन्त्रता र सम्मानको चाहना राख्ने जनतालाई अमेरिकाले सदैब समर्थन गर्ने प्रतिज्ञा गर्नु भएको थियो । त्यो सम्बोधनको एक महिनापछि नै सिरियाका जनता राष्ट्रपति असदको विरोधमा सडकमा उत्रिए । तर सिरियाली सरकारको चरम दमनमा त्यहींका जनता परे ।

अमेरिकाको एउटा समूहको विचारमा असदले सिरियामा विजय हासिल गरेका छन् र त्यहाँ अमेरिकाले गर्नुपर्ने केही छैन । तर सिरियाभित्र जनताको विद्रोह र क्रान्ति अझै नसकिएको तथा जनताका दुःखपीडा अझै यथावत् रहेको वासिङ्टन पोष्टमा स्तम्भकार जस रोजिन लेख्छन् । असदको शासन विरुद्ध सङ्घर्षरत पक्षहरुको विचारमा अझै पनि असदबाट मुक्तिको अभियान जारी छ ।

सिरिया मामिलामा पूर्वराष्ट्रपति बाराक ओबामालाई समेत परामर्श दिने पूर्वराजदूत फ्रेडरिक सी. हफको विचारमा यदि राष्ट्रपति बाइडेनले कुनै ठोस कदम नचाले सिरियाको अवस्था उत्तर कोरियाको झैं हुनेछ । उहाँ भन्नुहुन्छ, सिरिया मध्यपूर्व मात्र नभई विश्वकै लागि खतराको रुपमा उपस्थित हुनेछ । स्तम्भकार रोजिन लेख्छन्, “अमेरिकी जनता सिरियाली सङ्कटबाट थकित भइसकेका हुन सक्छन्, तर सिरियाली जनता अझै पनि प्रतिबद्ध छन् । उनीहरुलाई थाहा छ, दशक लामो सङ्घर्ष अहिल्यै सकिने स्थितिमा छैन, चाहे विश्वले उनीहरुलाई समर्थन गरुन् वा नगरुन् ।”

(रासस)

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार