म्यानमारमा भइरहेको सैन्य ‘कू’ के हो‚ किन भइरहेछ ?

२०७७ चैत्र ८ आइतबार, काठमाडौं । गत फेब्रुअरी १ मा म्यानमारकाे सेनाले त्यहाँका मुख्य नेताहरुलाई नजरबन्दमा राख्याे । त्यसपछि  सैन्य ‘कू’ लगायो । विभिन्न देशका प्रतिनिधिले विज्ञप्ति निकालेरै त्यसको निन्दासमेत गरे । लामो समयसम्म सैनिक शासन भोग्दै आएको म्यानमार पुनः एकपटक त्यही दिशातर्फ जाने संकेत गरिरहेको छ ।

सेनाले गरेको सैन्य ‘कू’ का विरुद्ध बर्मेली नागरिक केही दिनयता सडकमा उत्रिएका छन् । निर्वाचनबाट छानिएकी मुख्य नेतृ आङ सान सुकी र उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका मुख्य सदस्यहरूलाई त्यहाँको सेनाले नियन्त्रणमा लिएर नजरबन्दमा राखेपछि त्यहाँको अवस्था भयावह बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सडकमा उत्रिएका म्यानमारका दर्जनाै नागरिकले प्रदर्शनकै क्रममा ज्यान गुमाएका छन् ।

म्यानमारमा अहिले के भइरहेको छ, किन ?
म्यानमारी सेनाले पुनः एकपटक त्यहाँको शासनसत्ता हत्याएर सैनिक शासन लागू गरेको छ । नेतृ आङ सान सुकीसहित अन्य मुख्य नेतालाई नजरबन्दमा पारेपछि म्यानमारकाे सेनाले एक वर्ष लामो संकटकाल घोषणा गरिसकेको छ ।

निर्वाचनमा सुकीको पार्टीका करिब सबै उम्मेदवार निर्वाचित भएपछि सेनाले गत फेब्रअरी १ मा उक्त पार्टीका प्रमुख नेतालाई नजरबन्दमा राखेकाे थियो ।

निर्वाचनमा धाँधली भएको भन्दै अर्को निष्पक्ष निर्वाचन हुनुपर्ने माग राख्दै आएको विपक्षी पार्टीको मागलाई समर्थन गर्दै सेनाले ती नेतालाई नजरबन्दमा राखेको थियो ।

त्यहाँको निर्वाचन आयोग भने यस्ता कुरामा विश्वास गर्ने कुनै आधार नभएको बताउँदै आएको छ । निर्वाचनपछि म्यान्मारको नयाँ संसदीय अधिवेशन सुरू हुनै लाग्दा सेनाले कू गरेको थियो ।

कूपछि नेतृ सुकीलाई एक अज्ञात स्थानमा राखिएको छ भने उनीमाथी गैरकानुनी रुपमा वाकी-टकी बोकेको, गत वर्षको निर्वाचनमा कोभिड-१९ मापदण्डको अवज्ञा गरेको, डरलाग्दा सूचनाहरू सार्वजनिक गरेको लगायतका मुद्दाहरू समेत लगाइएको छ ।

सत्तामा अहिले को छ ?
मिलिटरी कमान्डर-इन-चिफ मिन ओङ ह्लाइङले अहिले म्यानमारको सर्वशक्ति आफूमै निहित बनाएका छन् । उनले देश लोकतन्त्रमा गइसक्दा पनि तत्मादो (म्यानमारी सेना) को शक्तिलाई सम्हाल्दै राजनीतिक प्रभावको बारेमा राम्रोसँग बुझेको विभिन्न विश्लेषकहरू बताउने गर्छन् ।

                                                                  मिन ओङ ह्लाइङ ।

यसअघि अल्पसंख्यक जातजाति रहेको समुदायमा सैनिक हमला गराएबापत उनलाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रतिबन्ध लगाएको थियो ।

शासन सत्ता हत्याएर सैन्य कू गरेपछि प्रथम पटक दिएको प्रतिक्रियामा उनले भनेका थिए, ‘सेना जनताको साथमा थियो । सेनाले पनि सत्य र अनुशासित लोकतन्त्र निर्माण होस् भन्ने चाहेको थियो ।’

सेनाका अनुसार यस संकटकालको अन्त्यसँगै पुनः एकपटक निष्पक्ष एवं धाँधलीरहित निर्वाचनमा जाने बताउँदै आएको छ ।

कस्तो छ म्यानमारी जनताको प्रतिक्रिया ?
म्यान्मारमा लाखौं नागरिक सडकमा उत्रिएर सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनलाई सन् २००७ मा गरिएको ‘स्याफ्रोन रिभोलुसन’पछिकै सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ । त्यसबेला सैनिक शासनविरुद्ध हजारौं भिक्षुहरू सडकमा उत्रिएका थिए ।

अहिले चलिरहेको प्रदर्शनमा शिक्षक, कानुनविद्, विद्यार्थी, बैंकका कर्मचारी र सरकारी कर्मचारीसमेत सहभागी छन् । सेनाले दुई वा दुईभन्दा बढी मानिस जम्मा हुन रोक लगाएको छ भने विभिन्न स्थानमा कर्फ्यू लगाउँदै आएको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न सेनाले अश्रुग्यास र रबरका गोली प्रयोग गरिरहेको छ ।

को हुन् आङ सान सुकी ?
सन् १९९० मा लोकतन्त्रको पुनःस्थापनाका लागि उनले चलाएको अभियानबाट सुकी विश्वचर्चित नेतृको रुपमा चिनिएकी छन् ।

लोकतन्त्रको पुनःस्थापना र निष्पक्ष निर्वाचनका लागि आवाज उठाउँदै सडकमा विभिन्न र्‍याली गरेबापत उनलाई १५ वर्षसम्म अर्थात् सन् १९८९ देखि २०१० सम्म कैद गरिएको थियो ।

Aung San Suu Kyi attends a meeting on September 1, 2020
                                                                   आङ सान सुकी ।

उनी सन् १९९१ काे नोबेल शान्ति पुरस्कार विजेता समेत हुन् । २५ वर्षपछि अर्थात् सन् २०१५ मा भएको खुला निर्वाचनमा उनले आफ्नो पार्टी एनएलडीलाई विजयी गराइन् । तर उनी सत्तामा रहेका बेला रोहिंग्यामाथिकाे प्रतिबन्धका कारण उनकाे चर्काे आलाेचना पनि भयाे ।

के हो रोहिंग्यामाथि लगाइएको प्रतिबन्ध ?

अल्पसंख्यक रोहिंग्यामाथि म्यानमारले गरेको व्यवहारबाट प्राप्त नतिजाप्रति अन्तर्राष्ट्रिय समुदाय रुष्ट बनिकाले सुकीका लागि यसले धेरै असर पुर्‍याएको थियो ।

म्यानमारले रोहिंग्यालाई गैरकानुनी रुपमा प्रवेश गरेको आप्रवासी भन्दै उनीहरूलाई नागरिकता पाउने अधिकारबाट वञ्चित गरेको थियो । केही दशकदेखि हुँदै आएको उत्पीडनबाट बँच्नका लागि धेरै रोहिंग्याहरू पलायन हुने क्रम जारी थियो ।

हजारौं रोहिंग्याहरू मारिएका थिए भने ७ लाखभन्दा बढी बंगलादेशतर्फ उडेका थिए ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएर सुकीले सेनाले रोहिंग्याको नरसंहार गरेको विषयलाई इन्कार गर्दै सेनाको बचाउ गरेकी थिइन् ।

कस्तो छ म्यानमारकाे कूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया ?
अहिले धेरै देशले याे सैन्य कूको विरोध गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यसलाई लोकतन्त्र पुनःस्थापनाविरुद्धको गम्भीर झड्काको संज्ञा दिएका छन् ।

अमेरिका र बेलायतले म्यानमारकाे सेनालाई प्रतिबन्ध लगाएका छन् । सैन्य कूको भर्त्सना गर्दै संयुक्त राष्ट्रसंघले जारी गरेको अभिव्यक्तिलाई चीनले अस्वीकार गरेको छ । तर, आङ सान सुकीको रिहाइको पक्षमा भने आफूहरू रहेको चीनले जनाएको छ ।

चीनले यसभन्दा अघि म्यानमारमाथि लगाइएको प्रतिबन्धको भने विरोध गर्दै आएको छ ।

यस संकटको अन्त्यका लागि दक्षिण-पूर्वी एसियाका विभिन्न देशहरूले कुटनीतिक पहल सुरु गरेका छन् ।

कहाँ पर्छ म्यानमार ?
दक्षिण-पूर्वी एसियामा पर्ने देश म्यानमारलाई बर्मा पनि भन्ने गरिन्छ । म्यानमारसँग थाइल्याण्ड, लाओस, बंगलादेश, चीन र भारतको सिमाना जोडिएको छ । करिब ५ करोड ४० लाखको जनसंख्या रहेको म्यानमारमा प्रायः मानिस बर्मेली भाषी छन् भने अन्य भाषीको समेत बसोबास रहेको छ ।

Map of Myanmar

यहाँको सबैभन्दा ठूलो शहर यंगुन (रंगुन) भएपनि राजधानी भने नेपिता हो ।

यहाँ बौद्ध धर्मावलम्बीको बाहुल्यता छ भने रोहिंग्या मुस्लिमसहित धेरै संख्यामा अन्य जातजाति र भाषाभाषीको समेत बसोबास छ ।

बेलायतको नियन्त्रणमा रहेको यो देश सन् १९४८ मा स्वतन्त्र भएको थियो । त्यसपछि सन् १९६२ देखि २०११ सम्म यहाँ सैनिक शासन लागू गरिएको थियो ।

म्यानमारलाई किन बर्मा भनियो ?
सन् १९८९ मा शासनसत्ता हत्याएर सैनिक शासन चलाइरहेको सेनाले देशको नाम नै परिवर्तन गरिदियो । त्यसभन्दा अगाडि बर्मा भनेर चिनिने यो देशलाई सन् १९८९ पछि म्यानमारको रुपमा चिनिन थालियो ।

बेलायतलगायत केही देशले भने म्यानमार नाम प्रयोग गर्न अस्वीकारसमेत गरे । तर पछि म्यानमार नै सबै ठाउँमा प्रयोग गर्न हुन थालेपछि यही नाम नै औपचारिक हुन थाल्यो । सन् २०१६ मा सुकीले यही नामको विषयमा सार्वजनिक रुपमा बोल्दै बर्मा अथाव म्यानमार जे नाम प्रयोग गरेपनि त्यसले खासै असर नपर्ने बताएकी थिइन् ।

(बिबिसीबाट)

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार