देउवाले बोलाए पदाधिकारी बैठक

२०७७ चैत्र ९ साेमबार, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।

सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली विकल्प खोज्नेबारे माओवादी केन्द्र र जसपाले निर्णय लिन नसकेबा बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेस आफैले पनि ओलीको विकल्प खोज्‍न सक्रिय देखाएको छैन । यसैबीच आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल निवास बालुवाटारमा बसेर छलफल गरेका थिए । ओलीको विकल्प खोज्‍न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको थियो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, डा. मिनेन्द्र रिजाललगायतको सहभागिता थियो । कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै पार्टीभित्रैबाट आवाज उठिरहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार