स्पष्टीकरण बुझाउने तयारीमा विपक्षी एमालेका ४ नेता

२०७७ चैत्र १२ बिहीबार, काठमाडौं । विपक्षी एमालेका ४ नेताले सत्तापक्षीय एमालेले सोधेको स्पष्टीकरण बुझाउने तयारी गरेका छन् । नेता रघुजी पन्तले दिएको जानकारीअनुसार ४ नेताले स्पष्टीकरण बुझाउने तयारी गरिरहेका हुन् । ‘स्पष्टीकरण बुझाउने तयारीस्वरुप छलफल भइरहेको छ,’ नेता पन्तले भनेका छन्, ‘सम्भवतः आज र भोलिभित्र स्पष्टीकरण बुझाउनेछौँ ।’

बुधबार पनि विपक्षी एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा आगामी रणनीति तथा स्पष्टीकरणको विषयमा छलफल भएको थियो । आज पनि सोही विषयमै छलफल भइरहेको छ । नेता पन्तले भने, ‘छलफल लगातार रुपमा चलिरहेको छ । चाँडै निष्कर्षमा पुग्नेछौँ र सम्भवतः स्पष्टीकरण बुझाउने नै छौँ ।’

यसअघि गत मंगलबार प्रधानमन्त्री सरकारी निवासमा बसेको सत्तापक्षीय एमाले केन्द्रीय कमिटी बैठकले विपक्षी एमालेका ४ नेतालाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरी पत्र पठाएको थियो । पार्टीको विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो ।

विपक्षी एमालले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ । नेता सुरेन्द्र पाण्डेले दिएको जानकारीअनुसार बैठक भोलिका लागि डाकिएको छ । ‘बैठक डाकिएको छ,’ नेता पाण्डेले भनेका छन्, ‘केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार