आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुँदै

२०७७ चैत्र १५ आइतबार, काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ ।

सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउँदै छन् ।

पटकपटक भाका सारिँदै आएको र उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ ।

आइतवार (आज) बिहान ८ देखि १० बजे नभए कुनै पनि समयमा यी स्थानबाट मेलम्चीको पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभएको छ ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज जम्मा करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने भन्दै श्रेष्ठले २ दिनपछि अर्थात् मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताउनुभयो ।

काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्ट परीक्षण हुनै बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी आउने भएको हो ।

आजबाट वितरण गरिने पाइपलाइनमा एकैपटक लोड पर्दा कुनै समस्या आउने हो कि भन्ने विचार गर्दै कमकम पानी छोडी १ हप्ताभित्र पूरा साढे ८ करोड लिटर पानी वितरण गर्न लागिएको श्रेष्ठको भनाइ छ । त्यसपछि यी चार स्थानबाहेक अन्य स्थानमा पनि पानी वितरणको प्रक्रिया अघि बढाउने तयारी छ ।

काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिने छ । श्रेष्ठका अनुसार उक्त पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत वितरण हुने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार