निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ : ईश्वर पोखरेल

२०७७ चैत्र २५ बुधबार, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताएका हुन् ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले बताए । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनकाे भनाइ छ । उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन ।’

विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नुपर्ने उनले बताए । उनले कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।

ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनकाे भनाइ छ । ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन’, उनले भने, ‘ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कार कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।’

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।

कर्मचारीतन्त्र निष्पृय, असंवेदशील र जडसमूह नभएकोले कर्मचारी तन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने उनकाे तर्क छ ।

‘कर्मचारीतन्त्र निस्पृह, असंवेदनशील र जड समूह होइन र हुन सक्दैन । यो एउटा संवेदनशील र गतिशील मानवहरुको विवेकशील समूह हो । यस हिसाबले आफूलाई यसले अगाडी बढाउनुपर्छ । त्यसैले कर्मचारी तन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ’, उनले भने ।

यस्तै उपप्रधानमन्त्री पोखरेलले निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्ने धारणा राखे । उनले भने, ‘हामी सबैले भन्दै आएको मान्यता हो, यो सेवालाई भ्रष्टाचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार