गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल

२०७७ चैत्र २७ शुक्रबार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गल्ती स्वीकार गर्न आग्रह गरेका छन् । गल्ती स्वीकार गरे सबै नेता कार्यकर्ताले ओलीलाई माफी दिन तयार रहेको उनले बताएका हुन् ।

विराटनगरमा नेकपा एमाले नेपाल समूहद्वारा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्रीले सर्वोच्च अदालतको फैसलापछि गरेका निर्णयहरुलाई गलत भन्दै २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएर अघि बढ्ने हो भने सँगै अघि बढ्न सकिने बताएका हुन् ।

‘हिजो जे भयो भयो । गल्ती भयो । जेष्ठ २ गतेको अवस्थामा फर्कौँ भन्ने अवस्था आउने हो भने ठिकै छ,’ उनले भने, ‘सर्वोच्चको निर्णयपछि माओवादी माओवादीमा गयो‚ एमाले एमालेमा गयो तर एमाले पहिलाको अवस्थामा आउनु पर्थ्यो कि पर्दैनथ्यो ?, हामी पनि त्यही ठाउँमा आउनु पर्थ्यो, ओलीजी पनि त्यही ठाउँमा आउनुपर्थ्यो, हामी त्यही ठाउँमा आउनुपर्‍यो भनेर आन्दोलनमा छौँ ।’

पहिलाको ठाउँमा नै फर्कौँ भन्दा ओलीले आफूहरुलाई वास्ता नगरेको नेपालको गुनासो छ । उनले आफूहरुलाई नबोलाउनुको कारणलाई आफू अल्पमतमा पर्ने डर भएको औँल्याए । नेपालले नेकपा एमालेमा १५ जना पदाधिकारीमा १० जना आफ्नो पक्षमा रहेकाले ती सबै १० जनालाई भष्म पारेको आरोप लगाए ।

स्थायी कमिटीको बैठक पनि नबोलाएकोमा नेपालको असन्तुष्टि छ । २२ जना सदस्य रहेको स्थायी कमिटीमा १२ जना आफ्नो पक्षमा रहेको नेपालले दावी गरेका छन् । पोलिटब्युरोमा पनि आफ्नो बहुमत रहेको नेपालले बताए । उनले आफ्नो पक्षमा २४ जना रहेको जानकारीसमेत दिए ।

केपी ओलीलाई प्रधानमन्त्रीको मुकुट लगाएर छाडिदिन तयार रहेको तर पार्टीलाई सही दिशा दिनुपर्ने आफ्नो समूहको माग रहेको नेपालले बताए । ‘हामीलाई सही काम गर्ने सरकार चाहिएको छ, सही काम गर्ने पार्टीको मान्छे चाहिएको छ,’ नेपालले भने, ‘हामीलाई पनि पार्टीको मान्छे गलत हुँदा जनताले औँला ठड्याउन थालेका छन् ।’

‘कसैलाई बेघरबार हुन नदिने’
नेता नेपालले भोलि केपी ओलीसँग असन्तुष्ट भएर आउनेहरुलाई स्वागत गर्न तयार रहेको पनि बताएका छन् । नेपाल समूहले नेकपा एमाले मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीमा समानान्तर कमिटी बनाएको छ । नव गठित समानान्तर कमिटीका पदाधिकारीलाई कम्युनिस्टको संस्कार हुर्काउन उनले आग्रहसमेत गरेका छन् ।

अहिलेको अभियानमा कार्यकर्ताको विश्वासमा केही कमी हुनसक्ने भन्दै नेता नेपालले सबै चुनौतीको सामना गरेर अघि बढ्न आग्रह गरे । उनले आफ्नो पार्टीमा आएकाहरुलाई बेघरबार नपार्ने समेत दाबी गरेका छन् । ‘अहिले केन्द्रदेखि वडासम्मका कमिटीहरू बनाउने अभियानमा लागेका छौँ, सबैले चुनौतीको सामना गरेर अघि बढ्ने हो,’ नेपालले भने, ‘हामी कसैलाई पनि बेघरबार पर्नेछैनौँ, तपाईंको योग्यता, क्षमताको आधारमा आगामी निर्वाचनमा आफ्नो गाउँ, क्षेत्र, जिल्ला र देशको नेता बनाएर देखाइदिन्छौँ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार