केही दिनमै नयाँ सरकार गठन हुनेमा विश्वस्त छु : प्रचण्ड

२०७७ चैत्र २८ शनिबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजना भएको नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्को कार्यक्रममा उहाँले वर्तमान् सरकार अब धेरै दिन नटिक्नेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थप निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस गरेमा फेरि विद्रोहमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनीसमेत दिनुभयो ।

‘सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानुन र राजनीतिक दलहरुको नेतृत्व तथा बहुमतको भावनाअनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्ने हामीले चाहिरहेका छौं । त्यही हाम्रो प्रयास पनि छ’, उहाँ प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै भन्नुभयो, ‘यदि त्यसो भएन र साँच्चै संविधान मिच्ने काम जारी रश्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने केही समयपछि नै एउटा नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ ।’

अब हुने आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाको नै उहाँको भनाइ थियो ।

‘हामी त्यो परिस्थिति आउनुभन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत् यो बीचमा भएका ज्यादतीलाई सच्याउन चाहन्छौं’, उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार