त्रिदेशीय सिरिज: नेपाल र नेदरल्यान्ड्स खेल्दै

२०७८ बैशाख ४ शनिबार, काठमाडौं । नेपालले त्रिदेशीय सिरिज टि-२० क्रिकेट प्रतियोगितामा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा आजबाट सुरु हुने त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सँग खेल्न लागेको हो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । सिरिजमा नेपाल, नेदरल्यान्ड्ससँगै मलेसिया रहेका छन् । एकदिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै देशका १४ वटा जिल्लामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै खेलकुदका गतिविधि लगायतका कार्यहरु नगर्न निर्देशन दिएको थियो । तर आजबाट सुरु हुने सिरिजमा क्यानले कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।

त्यसो त, क्यानले कोरोनाको प्रोटोकल तयार पनि गरेको छैन । दर्शकसहित सिरिज खेलाउने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकसहित खेलाउछ या दर्शकलाई प्रवेश निषेध गर्नेछ । त्यसको भने टुंगो लागिसकेको छैन ।

सिरिजको पहिलो खेलमा नै नेपाल जित निकाल्दै शुखद सुरुवात गर्न चाहन्छ । तर नेदरल्यान्ड्स नेपाल भन्दा बलियो टिम हो । नेपाली टिममा पूर्वकप्तान पारस खड्का भने हुने छैनन् । अभ्यासको दौरानमा काँधमा चोट बोकेका पारस सिरिजबाट बाहिरिएका हुन् ।

उनको स्थानमा युवा खेलाडी सन्दीप जोरालाई टिममा राखिएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिममा दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छन् ।

सिरिज डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ । शीर्ष दुई देशले सिरिजको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । बैशाख ११ गतेसम्म सञ्चालन हुने सिरिजको दोस्रो दिन बैशाख ५ गते नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ६ गते सोमबार नेपालले मलेसियासँग खेल्नेछ । लिग चरणकै खेलमा ७ गते मंगलबार नेपालले नेदरल्यान्डसँग खेल्ने तालिका छ । ८ गते नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग ९ गते खेल्नेछ । फाइनल खेल ११ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार