स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू, बिदामा बसेकालाई बोलाउनूः स्वास्थ्य मन्त्रालय

२०७८ बैशाख १४ मङ्गलबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।

त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ।

मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि भनिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार