पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

२०७८ बैशाख १८ शनिबार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत वर्षको पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा नेपालमा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता आज हालसम्मकै धेरै जना ५हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट १४ हजार ४०३ जनामा परीक्षण गर्दा ५ हजार ७०६ जना र एन्टिजेन विधिबाट ५६६ जनाको परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा मृतकको कुल संख्या ३ हजार २९८ पुगेको छ ।
गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । जसमध्ये ४० हजार १०३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार