अझै मास्क नलगाइ हिँड्छन् मानिस, ३३ हजार होल्डिङमा

२०७८ बैशाख १९ आइतबार, काठमाडौं । नयाँ भेरियन्टसहित कोभिड-१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाइ हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मानिसले जान्दा-जान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाइ हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाइ हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई ‘होल्डिङ जोन’मा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

स्वास्थ्यविज्ञहरुले मास्कको प्रयोगले कोरोनाभाइरस संक्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लंघन गर्ने एक हजार ८६ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना समेत गराएर छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ?’लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी-साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार