प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि माओवादीको प्रतिक्रिया कस्तो?

२०७८ बैशाख २० साेमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने जानकारी प्रधानमन्त्रीले गराउनुभएको हो । यसैबीच विश्वासको मत दिने प्रधानमन्त्रीको घोषणालाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

माओवादी नेता देबेन्द्र पौडेलले प्रधानमन्त्री कानुनतर्फ फर्कनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । एमाले र माओवादी ब्युँताउने सर्वाेच्चको फैसलाको एकमहिनाभित्रै विस्वासको मत लिनुपर्ने भए पनि ढिलो गरी प्रधानमन्त्रीको बुद्धि फिरेको उहाँले बताउनुभयो ।

यता कानुनविदहरुले पनि ढिलो गरी प्रधानमन्त्री ओली कानुनतर्फ फर्केको प्रतिक्रिया दिएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत २३ भित्रै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएकोमा ढिलो भइसकेको बताउनुभयो । प्रधानमन्त्रीले संविधानमाथि बलजफ्ती अतिक्रमण गरे पनि अहिले विश्वासको मत लिन तयार हुनुलाई सकारात्मक रुपमा लिन सकिने उहाँले बताउनुभयो ।

सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने माओवादी रणनीति थियो । माओवादी, नेपाली कांग्रेस र जसपाको एक समूहले मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री ओली विश्वासको मत लिन आफै अघि सर्नुभएको हो ।

माओवादी नेता पौडेलले अविश्वासको प्रस्ताव दर्ताका लागि आवश्यक संख्या जुटाउन निरन्त्र पहल भइरहेको बताउनुभयो । ओलीले विश्वासको मत जिते पनि अविश्वास प्रस्तावको तयारी बन्द नगरिने उहाँ बताउनुहुन्छ ।

प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने कानुनी व्यवस्था छ । अहिले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकाले आफू नेतृत्वको सरकार बहुमतमै रहेको प्रधानमन्त्रीको दाबी थियो ।

तर आज प्रधानमन्त्री ओली अचानक विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो । विश्वासको मत लिने प्रधानमन्त्रीको घोषणासँगै एमालेको माधव नेपाल समूहले के गर्ला चासोको विषय बनेको छ । नेता भीम रावलले यसबारे प्रष्ट जवाफ दिन चाहनुभएन ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३८ सांसदको समर्थन लिनुपर्ने छ । सदनमा नेपाली कांग्रेसको ६३, पार्टी छाडेका चार जना पदमुक्त भएपछि नेकपा माओवादी केन्द्रको ४९ जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ ।

नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ भने नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ । सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादी पार्टीभित्र विवाद छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार