अक्सिजन सिलिण्डर लिन बेइजिङ उड्दै वाइड बडी

२०७८ बैशाख २५ शनिबार, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइडबडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज सोमबार बिहान साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

“चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार