मेडिसिटीले भन्यो- कोभिडका नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ

२०७८ बैशाख २९ बुधबार, काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएपछि नयाँ बिरामी भर्ना नलिने जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै कोभिड-१९ का नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

अस्पतालमा अहिले १२० भन्दाबढी कोभिड र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए । चालीसभन्दा बढी भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ ।

प्रत्येक दिन ४ सय पचासदेखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपिल गरेको छ ।

अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार