अक्सिजन उत्पादन, आपूर्ति र वितरण तत्काल गर्नू

२०७८ जेष्ठ २ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । बालुवाटारमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।

कोरानाको सामना गर्न सरकार सक्षम रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ,’ उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।’

उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । ‘जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ,’ उनले भने ।

नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको बताए ।

कोभिड नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए । ‘त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार