बिहे भोजपछि गाउँभर कोभिड, एकाघरका चारको मृत्यु

२०७८ जेष्ठ २ आइतबार, काठमाडौं । बागलुङमा अहिले कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका-४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो ।

संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो । परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् ।

बिहे भोजबाट फर्किएपछि अहिले गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । गाउँमा बिरामीको संख्या बढेपछि गाउँपालिकाले १९ र २२ गते पहिलो पटक परीक्षण गरेको थियो । परीक्षणका क्रममा एकैचोटी ४९ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष प्रेम गलामी बताउँछन् ।

बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेकोमा २५ जनामा कोरोना देखिएको छ । ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो,’ उनले भने ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भएको हो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड-४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उहाँकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार राति नै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।

अधिकांश सङ्क्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड–४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए । यद्यपि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार