हाच्छिँयु गरेर कोरोना उडाइदिनुपर्छ भन्ने प्रधानमन्त्रीको होस बल्ल खुल्न थाल्यो

२०७८ जेष्ठ ३ साेमबार, काठमाडौं । कोरोना संक्रमणको पहिलो लहर चलिरहँदा गत वर्ष प्रधानमन्त्री केपी ओलीले संसदबाटै नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता धेरै हुने भएकोले क्षति कम भएको दाबी गर्नुभयो ।

कहिले हाच्छिँयु गरेर कोरोना उडाइ दिनुपर्छ त कहिले हिमालयबाट जडिबुटिलाई छोएर बगेको पानी खाने नेपालीलाई कोरोनाले असर गर्न नसक्ने प्रधानमन्त्रीको अनौठौ दाबी संसदमा पनि दोहोरिएपछि विपक्षीले प्रश्न उठाए ।

संसदमा उभिएर पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका गगन थापाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै छ भनेर कसले भन्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो ।

गगनको प्रश्न सुनेपछि प्रधानमन्त्री ओलीले आफ्नै पारामा जवाफ दिनुभयो । नेपालीकोे रोग प्रतिरोध क्षमता धेरै रहेको कुरा भर्खर आफैले भनेको भन्दै प्रधानमन्त्रीले संसद मात्रै हैन दुनियाँ हँसाउनुभयो ।

उहाँले कसैले खोज अनुसन्धान गरे पनि आफूले यस कुरामा चुनौती दिन सक्ने उद्घोष पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले त्यसपछि पनि लगातार नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता धेरै रहेकोले कोरोनाको असर धेरै नदेखिएको दाबी गरिहनुभयो ।

तर अहिले जब दिनहुँ ९ हजार भन्दा धेरै संक्रमित र २ सयको हाराहारीमा मानिसहरुको मृत्यु हुन थाल्यो प्रधानमन्त्री ओलीको होस गुम्न थालेको छ ।

विगमा कोरोनाबारे आफूले के भनेको थिएँ भन्ने कुराको समेत ख्याल नगरी उहाँका नयाँ अभिव्यक्तिहरु सार्वजनिक हुन थालेका छन् ।

कुनै बृला हाच्छिँयु गरेर कोरोना उडाइदिनुपर्छ भन्ने प्रधानमन्त्री ओलीले आज सीसीएमसीको बैठकमा नेपालमा यो हदसम्म कोरोना फैलिएला भन्ने आफूलाई नलागेको बताउनुभयो ।

कोरोना भाइरसको वास्तविकताबारे पत्ता लगाउन विश्वको वैज्ञानिकहरु दिनरात नभनेर लागि रहेका छन् । तर हाम्रो देशका प्रधानमन्त्री ओलीले भने सुरुवातदेखि नै कोरोनालाई मजाकको विषय बनाउनुभयो ।

शासकले रोग नियन्त्रणमा ध्यान दिनुको साटो जथाभावी भ्रम सृजना गरेपछि दुःखद परिस्थितिको सामना गर्नुपरिरहेको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बताउनुभयो ।

यति हुँदा समेत प्रधानमन्त्री ओलीले नेपालीहरुमा रोगप्रतिरोधात्मक क्षमता धेरै रहेको दाबी गर्न छुटाउनुभएको छैन । आजको बैठकमा पनि ओलीले प्रतिरोध क्षमता धेरै रहेकै कारण निको हुनेको दर पनि उच्च रहेको दाबी गर्नुभयो ।

तर विज्ञहरुले भने नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै रहेको विषयमा कुनै अध्ययन नै नभएको बताएका छन् । जनस्वास्थ्यविद डा. बाबुराम मरासिनीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै रहेका विषय कहिँकतै प्रमाणित नरहेको जानकारी दिनुभयो ।

शासक दूरदर्शी हुनुपर्ने मान्यता विश्वव्यापी छ । तर कोरोना महामारीका सम्बन्धमा विपक्षीसहित आम नागरिक र विज्ञहरुले लाख सम्झाउँदा समेत प्रधानमन्त्री ओलीको घैँटोमा घाम नलागेको नतिजा अहिले नेपाली जनताले भोग्नुपरिरहेको छ ।

विश्वलाई नै हायल कायल पारिरहेको कोरोनालाई प्रधानमन्त्री ओलीले मजाकको विषय बनाएकै कारण जनताले दुःख पाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार