प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२०७८ जेष्ठ ४ मङ्गलबार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुन: शपथको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले निवेदकले मागे बमोजिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए १५ दिनभित्र पेश गर्न सरकार र राष्ट्रपति कार्यालयको नाममा आदेश दिएको हो । अन्तरिम आदेशसँगै प्रधानमन्त्री ओलीले दोहोर्‍याएर शपथ लिनुनपर्ने भएको छ ।

वैशाख ३१ गते प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांशलाई प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै उक्त वाक्यांश उल्लेख गरेका थिएनन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीले प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।०१।३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुन: दोस्रोपटक शपथग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ’ भन्ने माग गरिएका चारैवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री र मन्त्रीहरूको शपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरूबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुने नै भएकाले हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार