बिहानै गएको भूकम्पले १० घर भत्किए, ५ जना घाइते

२०७८ जेष्ठ ५ बुधबार, काठमाडौं । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन्।

भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनले बताएका छन् ।

बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाडौँ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ।

त्यस लगत्तै फेरि लमजुङ केन्द्रबिन्दु भएर दोस्रो भूकम्प पनि गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए।

भूकम्पको क्षतिको थप विवरण आउँन बाँकी छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार