बेलायती भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक, चिकित्सकहरुको जोड खोपमै

२०७८ जेष्ठ ६ बिहीबार, काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरसँग पौठेजोडी खेलिरहेको नेपालको स्वास्थ्य प्रणाली नेपालमै तेस्रो भेरियन्ट पुष्टि भएपछि थप चुनौतीपूर्ण हुने देखिएको छ । नेपालमा गत हप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा नेपालमा कोरोनाको तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार नै यबारे जानकारी गराइसकेको छ ।

यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएको छ । शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको र यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहका मानिसमा बढी संक्रमण हुने महाशाखा प्रमुख डा.कृष्ण पौडेलको भनाइ छ ।

नेपालमै कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको आमनागरिक थप त्राहिमाम भएका छन् । यो अवस्थामा स्थिति नियन्त्रणमा लिन मुख्यगरी खोप आयात र वितरण कार्यक्रमलाई नै प्राथमिकता दिनुपर्नेमा चिकित्सकहरुको जोड छ । विगतको जस्तो कमिकमजोरीबाट टाढा रहेर आगामी दिनमा आइपर्न सक्ने थप जोखिम न्यूनीकरणका लागि ध्यानपूर्वक व्यवस्थापनमा गरियो भने कोरोनाको अर्को लहर नफैलिने सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउनुहुन्छ ।

पहिलेभन्दा अहिले सबैले कोरोनाबाट आफू कसरी बच्ने भन्नेमा नागरिक सचेत रहेकोले अबको नयाँ भेरियन्टले भयानक रुप भने नलिने जनस्वास्थ्यविद्को बुझाइ छ । अझै केही महिना यही लहरबाट नागरिक प्रताडित हुनुपर्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

कोरोना विरुद्धको लडाइँमा अग्रपङतिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खोप नै महामारीलाई नियन्त्रयामा लिने मुख्य विकल्प भएको बताउँदै आएका छन् । तर खोप आयातका क्रममा कमिसनको खेलमा रुमलिएको र सिन्डिकेटको जालो तोड्न नसकेको भनेर सरकारको निक्कै आलोचना पनि हुँदै आएको छ ।

सरकारले भने आफ्नो बलबुत्ताले भ्याएसम्म कोसिस गरिहेको बताएको छ । आगामी दिनमा फैलन सक्ने अर्को लहर, आइपर्न सक्ने थप जोखिम र अहिलेको अवस्थाबाट जनतालाई मुक्ति दिलाउन अरु सबै कुरा छाडेर सरकार लागिपरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ छ ।

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै १७ बैशाखदेखि मुलुक निषेधाज्ञाको अवस्थामा छ । निषेधाज्ञा जारी भएको तीन हप्ता पूरा भइसक्दा पनि संक्रमित र मृत्युदरमा भने त्यत्ति कमि आउन सकेको छैन । त्यसैमाथि फेरि ५० प्रतिशत बढी संक्रामक तेस्रो भेरियन्ट पुष्टि भएपछि आमनागरिकमा झनै ठूलो त्रास थपिएको छ ।

यस्तो अवस्थामा सबै दलहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारीवरुद्ध लाग्न जरुरी देखिन्छ भने स्वास्थ्य मापदण्डलगायत सरकारबाट जारी निर्देशनको पालना नागरिक स्तरबाट पनि हुनुपर्ने आजको टट्कारो अवश्यक्ता हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार