धारा ७६ (५) बमोजिम नै निकास दिउँ : बाबुराम

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ नयाँ सरकार गठनको आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार ५ बजेसम्मको समय दिएपछि भट्टराईले ट्विटरमार्फत संविधानमाथिको आक्रमण शृंखला नरोकिएको भन्दै राजनीतिक दलहरूले मुलुकलाई सहमतिमा निकास दिनुपर्ने धारणा अघि सारेका हुन् ।

डा. भट्टराईले भनेका छन् -‘संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो । कोरोना महाव्याधीको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं,सबैले दलीय/निजी स्वार्थ त्यागेर जो-जेमा सहमति हुन्छ धारा ७६ (५)बाटै निकास दिऊँ ।’

संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

संसद्को ठूलो दलको नेताको हैसियतमा बैशाख ३१ गते शपथग्रहण गरेका ओलीले ३० दिनभित्र संसदमा विश्वासकाे मत लिनुपर्नेमा त्यसाे नगरि र पदबाट राजिनामा पनि नगरि अर्काे उपधारा अनुसार नयाँ प्रधानमन्त्रीकाे दाबी पेश गर्नका लागि आह्यवान गर्ने सिफारिस गरेका हुन् । जस अनुसार राष्ट्रपति भण्डारीले २१ घण्टाकाे समय दिएर सरकार गठनकाे दाबी पेश गर्न आह्वान गरेकी छन् । तर विपक्षी दल र कानूनका जानकारहरुले याे कदम असंवैधानिक भन्दै विराेधगरिरहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार