‘माधव पक्ष विपक्षीको गोटी बन्यो, एकता बिथोलियो’

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाका लागि बिहीबार भएको उपनिर्वाचनमा देखिएका हर्कत अक्षम्य प्रतिक्रिया दिएका छन् । पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ हारेपछि उनले माधव नेपाल पक्षको भूमिका अत्यन्तै निकृष्ट र अक्षम्य भएको प्रतिक्रिया दिएका हुन् ।

यस खाले क्रियाकलापले पार्टीभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको उनको टिप्पणी छ । ‘राष्ट्रिय सभाको निर्वाचनमा देखिएको लज्जास्पद नाटक । राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन् यस खाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विरूद्धमा गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’

उनले अगाडि भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’

यद्यपि पोखरेलले बिहीबारको निर्वाचनले एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम रहेको कुरा स्पष्ट भएको दाबी गरे । उनले पार्टी विभाजनविरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक रहेको पनि औंल्याएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार