इजरेल-प्यालेस्टिनी विद्रोहीबीच युद्धविराम

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरेल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ । युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ ।

प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन् । गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरेलतर्फ रकेट प्रहार रोकिएको छ ।

इजिप्टले इजरेल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाउँदैछ । हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरेलले ती दाबी अस्वीकार गरेको छ ।

अमेरिकाद्वारा स्वागत
अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन् । यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन् । युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए ।

साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन् । अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए ।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई युद्धविराम स्थायी बनाउन आग्रह गरेका छन् ताकि सो क्षेत्रमा हिंसाको चक्र तोडियोस् । तर इजरेलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले युद्धविरामको निन्दा गरेका छन् । –बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार