के बेलायतले २० लाख खोप उपलब्ध गराउन लागेको हो ?

२०७८ जेष्ठ ९ आइतबार, काठमाडौं । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड-१९ सङ्क्रमणविरूद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ ।

नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।

आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करिब तीन लाख पचास हजार खोप कोभ्याक्समार्फत् छुट्टाइसकेको लर्ड अहमद अफ विम्बल्डनले बताए ।

दुई दिन अगाडिमात्र नेपालका परराष्ट्र मन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि यहाँका सम्बन्धित निकायमा निरन्तर रूपमा सम्वाद भइराखेको र सकरात्मक प्रतिक्रिया आएको बताए ।

केही दिनअगाडि मात्र बेलायतकी चर्चित नायिका जुवाना लुम्लेलगायत करिब पचास जना बेलायतीले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए । यहाँका नेपाली सङ्घसंस्थाले संस्थागत रूपमै पिटिसनमार्फत् एक्यवद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार