उपेन्द्रलाई महन्थको प्रश्न- ओलीलाई छाडेर देउवालाई समर्थन किन ?

२०७८ जेष्ठ १२ बुधबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् ।

सरकार गठन प्रकृयामा केपी ओलीलाई छोडेर शेरबहादुर देउवालाई किन समर्थन गरेको ? लगायत प्रश्न गरिएको स्पष्टिकरणको जवाफ तीनदिन भित्र दिन भनिएको छ । यादवले पार्टीका मूल्यमान्यता, नीति तथा विधानविपरीत गतिविधि गरेको ठाकुरको आरोप छ ।

जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५) अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति किन र कुन कारणले हस्ताक्षर गरिएको हो ? स्पष्टीकरणमा सोधिएको छ । ‘तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?’ स्पष्टीकरणमा सोधिएको छ ।

अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिइ एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु सञ्चालन गरेको समेत आरोप लगाएका छन् ।

यस्तै, आफ्नो जानकारी बेगर अनधिकृत रुपमा केन्द्रीय कार्यकारिणी बैठक बसी लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यलाई कारबाही गरेकोमा पनि स्पष्टिकरणमा पत्र सोधिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार