के महामारी रोक्न निषेधाज्ञा मात्रै निर्विकल्प अस्त्र हो ?

२०७८ जेष्ठ १२ बुधबार, काठमाडौं । सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ । सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा सुधार देखिएको छैन ।

जिल्ला प्रशासन कार्यालयहरूले मानिसको अनावश्यक आवागमन र अत्यावश्यकबाहेकका क्षेत्र करिब दुई साता बन्द गरे संक्रमण रोकथाम हुने अपेक्षा राखेका थिए । तर धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको एक महिना हुँदै गर्दा संक्रमण नियन्त्रणमा देखिएको छैन । काठमाडौं उपत्यकामा नै निषेधाज्ञा लागू भएको १६ गते एक महिना पुग्दै छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख १३ गते निषेधाज्ञा घोषणा गर्दै भनेका थिए, ‘कोरोना महामारी काठमाडौं उपत्यकामा पनि तीव्र गतिमा बढ्यो, यसको चेनब्रेक गर्न कडा निषेधाज्ञाको विकल्प देखिएन ।’ संक्रमण रोकथाम र नियन्त्रण गर्न भक्तपुर र ललितपुरका प्रजिअ क्रमशः प्रेमप्रसाद भट्टराई र ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञाको अर्को विकल्प नभएको बताएका थिए । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि पटक–पटक थप्दै आए पनि उपत्यकामा हरेक दिन दुई हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । पछिल्लो समय उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले थप कडा प्रावधानसहित निषेधाज्ञालाई जेठ २० गतेसम्म लम्ब्याएका छन् ।

सरकारले निषेधाज्ञालाई निर्विकल्प अस्त्र बनाए पनि मुलुकभरमा हरेक दिन ८ हजार हाराहारी संक्रमित थपिइरहेका छन् । हरेक दिन मृत्यु हुनेको संख्या डेढ सयभन्दा माथि छ । सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार नाघेको छ । महामारी नियन्त्रण नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय स्वास्थ्य आपत्काल घोषणा गर्ने सम्बन्धमा आन्तरिक छलफल गरिरहेको छ । गृह मन्त्रालयले नागरिकलाई आदेशबिना बाहिर निस्कन नदिन आइतबार देशभरका प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । स्वास्थ्य आपत्काल लागू गर्ने आन्तरिक तयारीलाई बल पुग्ने गरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको प्रमुखमा फौजी पृष्ठभूमिका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । त्यसैको भोलिपल्ट मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा झन् कडाइका साथ लागू गर्ने निर्णय गरेका हुन् ।

सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लिइनुपर्ने जिम्मेवारी वहन नगरी रोकथामका सबै बोझ कर्मचारी (प्रजिअ) को काँधमा छाडिदिएको छ । सरकारबाट दिनहुँजसो प्रशासनिक बल प्रयोग गर्ने आदेश र निर्देशन जारी भएका छन् । यहीबीच गत बिहीबार स्वास्थ्य आपत्काल र अन्य कडा प्रावधानसमेत लागू गर्न सकिने गरी कोभिड संक्रमण नियन्त्रणसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पुर्‍याए ५ लाखसम्म जरिवाना र १ वर्षसम्म कैद गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ । यसले प्रजिअलाई थप स्वेच्छाचारी बनाउन सक्ने जोखिम छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रशासनिक आदेश र बलका भरमा मात्रै संक्रमण रोकथाम र नियन्त्रणमा नआउने बताए । महामारी रोक्न निषेधाज्ञालाई नै अचुक उपाय ठान्नेका लागि अधिकारीको यो टिपणीले जिम्मेवारी निर्वाह गर्ने निकायबीचको समन्वयमा पनि समस्या छ भन्ने स्पष्ट पार्छ । ‘मानिसको अनावश्यक आवागमन र भीडभाड नियन्त्रणसहित प्रशासनबाट जारी गरिएका आदेशले संक्रमणको चेनब्रेक गर्न सघाउ त पुग्छ तर यो मात्रै सबैथोक होइन, गर्नुपर्ने अरू थुप्रै छन्,’ डा. अधिकारीले भने । उनले जनस्वास्थ्य प्रणालीले काम गर्न नसकेकैले मुलुकले विकराल स्थिति सामना गर्नुपरेको टिप्पणी गरे । ‘संक्रमण रोकथाम तथा नियन्त्रण र यसको चेनब्रेक गर्न मूलतः प्रशासनिक आदेशका अलावा क्वारेन्टाइन, सेफ आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ, खोप, परीक्षण र महामारीविरुद्ध जनचेतना नभई नहुने विषय थिए तर यसलाई ख्यालख्यालको विषय बनाइयो,’ उनले भने, ‘जनस्वास्थ्य प्रणालीका पुराना संयन्त्र भत्कायौं, नयाँको विकास हुन सकेन । भवन संरचनालाई जनस्वास्थ्य प्रणालीका रूपमा बुझियो । त्रुटि नै यही थियो ।’

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप, परीक्षण र जनस्वास्थ्यका विधि र मापदण्ड पनि प्रशासनिक बलबाट सञ्चालन गर्नुपर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण भएको बताए । ‘पहिले–पहिले खोपदेखि सामान्य रोगको निदानसमेत स्थानीयस्तरमै भएका जनस्वास्थ्य संस्थाबाटै समाधान हुने गरेको थियो । अहिले त सबै किसिमको हाहाकार देखिएको छ,’ उनले भने, ‘हुँदाहुँदा नेता–कार्यकर्ता र गैरस्वास्थ्यकर्मीले बिरामीलाई अक्सिजन सिलिन्डर बाँड्दै हिँड्नुपर्ने दिन आयो ।’ अहिलेको महामारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच जिम्मेवारी बाँडफाँट राम्ररी हुन आवश्यक देखिएको बताए । –कान्तिपुर दैनिकबाट

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार