गणतन्त्र दिवसः राष्ट्रपति, उपराष्ट्रपति र सभामुखले दिए शुभकामना

२०७८ जेष्ठ १५ शनिबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् ।

‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।’ सन्देशमा भनिएको छ, ‘संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।’

उनेले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छन् ।

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छु : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्‍न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन् ।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गरेका छन् । गणतन्त्र प्राप्त गर्न भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनान्दोलनका शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै उपराष्ट्रपतिले शहीद परिवार, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरेका छन् । उनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गरेका छन् ।

उनले भनेका छन् ‘संविधान कार्यान्वयनका क्रममा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ । तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौं । एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।’

गणतन्त्रलाई परिष्कृत गर्नका लागि संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको जनाउँदै उनले राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवसले गणतन्त्रलाई परिष्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उनले विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा सभामुखले भनेका छन्, ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड-१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।’

उनले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनान्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभामुखले घाइते, अपाङ्गता भएका तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार