संसद पुनःस्थापना भएर अर्को बजेट आउँछ : शेखर कोइराला

२०७८ जेष्ठ १७ साेमबार, काठमाडौं । अर्थविद्ले आगामी वर्ष २०७८/०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आइतबार आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ?’ विषयको भर्चुअल अन्तरक्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।

कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे । कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।

काग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए । पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनबिना नै योजना समावेश गरिको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार