वामदेव भन्छन्, ‘महतोको देश विखण्डन गर्ने आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक छ’

२०७८ जेष्ठ २१ शुक्रबार, काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफूलाई आश्चर्य लागेको नेता गौतमको भनाइ छ ।

’नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ’नेपालको संविधानको धारा (३) मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा (४) मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटामात्र राज्य छ त्यो नेपाल हो ।’

नेता गौतमले महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन नसक्ने ठोकुवासकेत गरेका छन् ।

’नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोधमात्र गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको छु ।’

Capture.PNG

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार