प्रधानन्यायाधीशले गर्लान् संवैधानिक इजलास पुनर्गठन ?

२०७८ जेष्ठ २३ आइतबार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन् ।

यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आइतबार नयाँ संवैधानिक इजलास पुनर्गठन गर्ने बताएका थिए । इजलासका लागि आज वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ ।

संवैधानिक इजलास पुनर्गठनपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुनेछ । नेकपा भंगको फैसला र त्यो पुनरवलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासबाट हटाउनुपर्ने आवाज उठेपछि प्रधानन्यायाधीशले न्यायाधीशको वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वचन दिँदै प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकका थिए ।

त्यो विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछोड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा. आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय लिएका थिए । सोही कारण इजलास पुनर्गठन गर्नुपर्ने अवस्था आएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार