राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेको प्रधानसेनापतिको अभिव्यक्तिप्रति सुरक्षाविज्ञले के भने?

२०७८ जेष्ठ २४ साेमबार, काठमाडौं । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई नजिकबाट नियालिरहेको बताएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा नेपाली सेना सजग र सचेत रहेको बताउनुभयो ।

कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क रहेको बताउनुभएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट नियालेको पनि उहाँले बताउनुभयो । मुलुकको रक्षाका लागि संवैधानिक दायित्व भित्रै रहेर सेनाले काम गर्ने पनि प्रधानसेनापति थापाले बताउनुभयो ।

संसद विघटनपछि मुलुकमा अहिले सरकार कामचलाउ हैसियतमा छ । विपक्षी दलहरु मोर्चा कसेर संसद विघटनविरुद्ध अदालत पुगेका छन् । सत्ताधारी दल पनि फुटको संघारमा छ । पदभार ग्रहणलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महताले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि मुक्ति आन्दोलनको तयारी गर्न आफूहरु सरकारमा सहभागी भएको अभिव्यक्ति दिनुभएको छ ।

यस्तो अवस्थामा सेना प्रमुखबाट राजनीतिक घटनाक्रम नियालिरहेको भन्दै वक्तव्य आउनु अस्वभाविक नरहेको सुरक्षाविदहरुले बताएका छन् ।

सुरक्षाविज्ञ एवं पूर्व प्रहरी महानिरीक्षक धु्रव बहादुर प्रधानले राजनीतिले गम्भीर मोड लिइरहेका बेला सेनाले चासो व्यक्त गर्नु स्वभाविक रहेको बताउनुभयो ।

यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कम्युनिष्ट सरकारको दम्भका कारण नेपालको राजनीतिले विदेशीका सामू आत्मसमर्पण गरिरहेका बेला सेनाले चासो देखाएको टिप्पणी गर्नुभयो ।

सरकार अत्यन्त कमजोर बनेका बेला सेनाले सतकर्ता देखाउनु स्वभाविक रहेको पनि उहाँले बताउनुभयो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम सेनाले नियालिरहेको भन्दै प्रधानसेनापतिबाट वक्तव्य आउनुलाई अस्वभाविक भन्न नसकिने उहाँले बताउनुभयो ।

मुलुकको राजनीतिले सुरक्षा खतरा बढाएको भए पनि सेनाले संवैधानिक दायित्वभित्रै रहेर काम गर्ने प्रधानसेनापतिको भनाइ छ । उहाँले अहिलेको राजनीतिक संकट राजनीतिक रुपमै समाधान हुने विश्वास पनि सेनाले लिएको बताउनुभयो ।

नेपाली सेनालाई कमजोर नसम्झन र विगतमा नेपाली सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार