मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

२०७८ जेष्ठ २७ बिहीबार, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका थिए ।

मध्याह्न १२ बजेको लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबा ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्रीलाई मत दिन्छन् वा विपक्षी गठबन्धनलाई साथ दिन्छन् प्रष्ट भइसकेको छैन । यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका उनले पक्षमा मतदान गर्दा मुख्यमन्त्रीले २९ मत प्राप्त गर्छन् । यो विश्वासको मतका लागि अपुग छ ।

नयाँ सरकार गठनका लागि विपक्षी चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमो गरी बहुमत पुग्छ । निर्णायक भूमिकामा रहेको राजमोबीच विवाद हुँदा नयाँ सरकार गठनमा समस्या देखिएको हो । यद्यपि स्वतन्त्र सांसद मनाङेले विपक्षी गठबन्धनलाई साथ दिँदा बहुमत पुग्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार