मन्त्रीपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा

२०७८ जेष्ठ २७ बिहीबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँलाई मन्त्री नियुक्त गरिएको छ ।

त्यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । प्रधानमन्त्री ओलीले यसअघि पछिल्लो साता महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा)सहितको मन्त्रीपरिषद् विस्तार गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार