२०७७ असार १४ आइतबार, एजेन्सी । इटालियन सिरिए फुटबलमा साविक विजेता युभेन्ट्सले अग्रता फराकिलो बनाउँदै लगेको छ। ‘लिग लिडर’ युभेन्ट्सले शुक्रबार राति खेलिएको खेलमा लिसलाई ४–० गोलको फराकिलो अन्तरले हरायो। जितसँगै युभेन्ट्सले तालिकाको दोस्रो स्थानमा आसीन लाजियोसँग सात अंकको अग्रता लिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औं मिनेटमा पाउलो डिबालाले घरेलु टोली युभेन्ट्सका लागि पहिलो गोल गरेका थिए। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल थप्दै युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए।
जारी सिजनको लिगमा रोनाल्डोले क्लबका लागि गरेको यो २३औं गोल हो। खेलको ३२औं मिनेटमा फाबियो लुसिओनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली दबाबमा परेको थियो। दोस्रो हाफमा युभेन्ट्सले त्यसैको भरपूर फाइदा उठाएको थियो।
यसैगरी खेलको ८३औं मिनेटमा अनुभवी खेलाडी गोन्जालो हिग्वेनले युभेन्ट्सका लागि तेस्रो गोल थपेका थिए। निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि रक्षापंक्तिका खेलाडी म्याथिज डे लिटले अर्को गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए।
हालसम्म २८ खेल खेलेको युभेन्ट्स ६९ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। २७ खेलबाट ६२ अंक बटुलेको लाजियो तालिकाको दोस्रो स्थानमा छ। २७ खेलबाट ५८ अंक हात पारेको इन्टर मिलान तेस्रो, समान खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथो र ४८ अंक बटुलेको एएस रोमा पाँचौं स्थानमा छन्।
युभेन्ट्ससँग पराजित भएको लिस भने २८ खेलबाट २५ अंक जोड्दै १८औं स्थान (रेलिगेसन क्षेत्र)मा छ। सन् २०११÷१२ सिजनयता युभेन्ट्सले लगातार सिरिएको उपाधि चुम्दै आएको छ। त्यसअघि सन् २०१०÷११ सिजनमा एसी मिलानले सिरिएको उपाधि जितेको थियो।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल