सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी जारी (तस्बिरहरु)

२०७८ असार २ बुधबार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलाे क्षति पुर्‍याएको छ । अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजारलगायत धेरै बस्तीमा ठूलाे क्षति पुर्‍याएको हाे ।

प्रहरीका अनुसार बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् तर एकिन विवरण प्राप्त भइसकेको छैन । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने, ‘खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।’ मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको जनाएको छ ।

डिएसपी सापकोटाका अनुसार ४५ जना व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी छ । तर यति जना नै बेपत्ता भए भन्ने कुरा अहिले एकिन भइसकेको छैन । ‘बिहानैदेखि हामी घटनास्थलमा परिचालित भएका छौं,’ उनले भने, ‘अहिले यत्ति नै मानिस बेपत्ता भए भन्ने अवस्था छैन, खोजी गरिरहेका छौं ।’

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको उनले बताए । बाढीको वितण्डापछि स्थानीयहरु अहिले शेरा, नगरपालिका प्रांगण, ईन्द्रावती क्याम्पसमा आश्रय लिएर बसेका छन् ।

   

तस्बिर : सामाजिक सञ्जालबाट

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार