जोखिमपूर्ण मनसुन : १८ लाख मानिस प्रभावित हुनसक्ने

२०७८ असार २ बुधबार, काठमाडौं । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो गएको हो ।

गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामू सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ,’ पोखरेलले भने, ‘त्यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपदबाट झण्डै चार सय मानिसको मृत्यु भएको थियो । एक हजार एक सयबढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घ-संस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको उनले बताए ।

प्राधिकरणका उपसचिव वेदनिधि खनाल भन्छन्, ‘विगतका वर्षको अनुभव हेर्दा साउन­असोजमा बढी प्रभाव पारेको देखिएको छ ।’ उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए। खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन् ।

विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्वसूचना दिने गरिएको बताउँछन् । केही हप्ताअघि मनसुन आपतकालिन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए । ‘हामीले ठूला र साना खोलाको अवस्था कस्तो रहने छ भनेरसमेत दिने गरेका छौँ,’ उनले भने ।

जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मुलुकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ । सिमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पुर्‍याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरू भएको यादवको भनाई छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार