यी भू-भागमा भारी वर्षा: राप्ती, तिनाउ र बबईमा उच्च जोखिम

२०७८ असार ३ बिहीबार, काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको हो ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यी नदीमा उच्च जोखिम

पानी पर्ने क्रम जारी रहेकाले केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म छ । यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ । नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ ।

कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार