२०७७ असार १३ शनिबार, एजेन्सी । कोरोना भाइरस संक्रमणको श्रृङ्खलामा भारतको रफ्तारले विश्वमै दक्षिण एसियालाई संक्रमणको हट स्पट बनाउँदै लगेको छ। शनिवारमात्र भारतमा २० हजार संक्रमित थपिएका छन्। यही रफ्तार कायम रहेमा भारतले रसियलाई खराब मुलुकको सूचीमा सजिलै उछिन्ने छ। त्यसपछि उसका अगाडि ब्राजिल र अमेरिकामात्र रहनेछन्।
भारतलाई पछ्याउँदै पाकिस्तान पनि दुई लाख संक्रमितको नजिक पुगिसकेको छ। त्यसको पछिपछि लागेको छ बंगलादेश। यी तीन मुलुकमा मात्रै ८ लाख ५० हजार संक्रमित पुग्न लागेको छ। यी तिनै मुलुकमा दैनिक संक्रमित संख्या तीब्र गतिमा बढिरहेको छ।
भारतमा संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ। भारतमा १५ हजार ६ सय ८५ जनाको मृत्यु भइसकेको छ। दक्षिण एसियामा दोस्रो धेरै संक्रमण पाकिस्तानमा रहेको छ। पाकिस्तानमा अहिलेसम्म १ लाख ९८ हजार ८ सय ८८ जना संक्रमित भेटिएका छन्। पाकिस्तानमा मृत्यु हुनेको संख्या ४ हजार ३५ रहेको छ।
बंगलादेशमा पनि कोभिड १९ का संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। त्यहाँ अहिलेसम्म १ लाख ३३ हजार ९ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको छ। बंगलादेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९५ रहेको छ।
दक्षिण एसियामा चौथो स्थानमा रहेको अफगानिस्तानमा पनि संक्रमितको संख्या बढिरहेको छ। त्यहाँ अहिलेसम्म ३० हजार ६ सय १६ जनामा संक्रमण देखिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ। त्यहाँ ७ सय ३ जना संक्रमितको मृत्यु भइसकेको छ।
दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा पाँचौ स्थानमा नेपाल रहेको छ। नेपालमा १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ। मृत्यु दरमा भने नेपालको अवस्था तुलनात्मक रुपमा कम रहेको छ। नेपालमा अहिलेसम्म २८ जनाको मृत्यु भएको छ।
मालदिभ्समा २ हजार ३ सय संक्रमित छन्। दक्षिण एसियामा संक्रमितको संख्यामा छैटौं स्थानमा रहेको यो मुलुकमा अहिलेसम्म ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
त्यसैगरी श्रीलंकामा संक्रमितको संख्या २ हजार ३३ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ११ पुगेको छ।
दक्षिण एसियामा सबैभन्दा कम प्रभाव भुटानमा परेको छ। त्यहाँ संक्रमितको संख्या ७५ रहेको छ भने मृत्यु हुनेको संख्या शून्य नै छ। लकडाउन कडा रुपमा लगाएर भुटानले अरुभन्दा सुरक्षित रुपमा आफूलाई राख्न सकेको हो।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो