यी भू-भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

२०७७ असार ५ शनिबार, काठमाडौ‍ं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार र सोमबार पनि देशका विभिन्न भू-भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना छ ।

सतर्क रहन आग्रह

आगामी २४ घण्टामा अधिकांश स्थानमा वर्षा हुने तथा प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार