उपत्यकामा स्मार्ट लकडाउनको तयारी

२०७८ असार ६ आइतबार, काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाको आगामी रणनीतिबारे छलफल गर्न तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन अपरान्ह काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागेको हो ।

अब थप केही प्रावधानलाई खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । ‘आज बैठक बसेर निषेधाज्ञाको आगामी मोडालिटीबारे टुंगो लगाउँछौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने, ‘कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुन्छ ।’

कोभिड-१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना संक्रमण घटाउन ‘स्मार्ट लकडाउन’को तयारी गरिएको हो । आजका बैठकमा स्मार्ट लकडाउनका विषयमा छलफल हुने जानकारी दिँदै प्रजिअ पराजुलीले भने, ‘यसको कसरी प्रयोग गर्ने, स्वरूप के हो ? क-कसको भूमिका के हुन्छ आदि विषयमा छलफल हुन्छ ।’

उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञाको समयावधि भोलि सकिँदैछ । प्रशासनले कोभिड–१९ भाइरसको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो । पछिल्लो सातामा चरणबद्धरुपमा प्रशासनले निषेधका क्षेत्रहरुलाई घटाउँदै आएको छ ।

के हो स्मार्ट लकडाउन ?
स्मार्ट शब्द पछिल्लो समय सूचना-प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना-प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ?

सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अर्थ्याउँछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार