कोरोना संक्रमित करोड पार

२०७७ असार १३ शनिबार, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड पार भएको छ। वर्ल्डओमिटरले संकलन गरेको तथ्याङ्कका अनुसार १ करोड ८० हजार १ सय ५८ जना कोभिड-१९ बाट संक्रमित भएका छन्।

वर्ल्डओमिटरले कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क ५ लाख १ हजार २ सय ६२ पुगेको जनाएको छ। कोरोनाबाट ठीक हुनेको संख्या ५४ लाख ५७ हजार ८ सय ९८ रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

यता कोभिड-१९ को तथ्याङ्क संकलन गरिरहेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले भने संक्रमितको संख्या ९९ लाख ४५ हजार ७ सय ६७ रहेको देखाएको छ। साथै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार १ सय पुगेको तथ्याङ्क देखाएको छ। जोन्स हप्किन्सको तथ्याङ्कलाई बढी आधिकारिक मानिन्छ। वर्ल्डओमिटरको कतिपय तथ्याङ्क भने मिडियामा आएका सामग्रीका आधारमा तय हुने गरेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कका अनुसार अमेरिकामा संक्रमितको संख्या २५ लाख ७ हजार ८ सय ७४ पुगेको छ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १३ लाख १३ हजार ६ सय ६७ पुगेको छ। तेस्रो स्थानमा रहेको रसियामा ६ लाख २६ हजार ७ सय ७९ जना संक्रमित छन्। चौथोमा रहेको भारतमा ५ लाख ८ हजार ९ सय ५३ जना संक्रमित छन्।

मृत्यु हुनेको सूचीमा पहिलोमा अमेरिका नै छ। त्यहाँ १ लाख २५ हजार ५ सय ४ जनाले ज्यान गुमाइसकेका छन्। त्यसैगरी ब्राजिलमा ५७ हजार ७० जनाले ज्यान गुमाएका छन्। बेलायतमा संक्रमणबाट ४३ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार