निधिलाई सहमतिमा ल्याउन देउवालाई निकट नेताहरुको दबाब

२०७८ असार ७ साेमबार, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा दोहोरिन सभापति शेरबहादुर देउवाले तयारी तीव्र पार्नुभएको छ ।

आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित भएलगत्तै देउवाले चुनावी तयारी तीव्र पार्नुभएको हो ।

चुनावी तयारीस्वरुप देउवाले आफू निकट नेताहरुहरुसँग प्रदेशगत छलफल सुरु गर्नुभएको छ । हिजो प्रदेश १ र २ का नेताहरुसँग छलफल गर्नुभएका देउवाले आज गण्डकी र बागमती प्रदेशका नेताहरुसँग महाधिवेशन केन्द्रीत तयारीबारे छलफल गर्नुभएको हो ।

आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाएर मात्रै विश्राम लिने चाहना निकट नेताहरुलाई देउवाले सुनाउनुभएको छ । बैठकमा सहभागी नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा मुलुकलाई हाँक्न सक्ने नेता देउवा नै भएकाले सभापतिमा उहाँले दोहोरिनुपर्ने आवश्यकता आइलागेको बताउनुभयो ।

वर्तमान परिस्थितिमा देउवा नै सभापतिको उम्मेदवार उपयुक्त हुने बैठकमा सहभागी सबै केन्द्रीय सदस्यको तर्क रहेको उहाँले जानकारी दिनुभयो ।

कम्युनिष्ट पार्टी मिलेका बेला भएको अघिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको लज्जास्पद हारका कारण पार्टीभित्र असफल सभापति भनेर देउवाको आलोचना हुने गरेको छ । हिजो मिलेका कम्युनिष्ट पार्टीहरु अहिले विभाजन भएकाले अब हुने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सहज हुने बुझाइ देउवाको छ ।

तर असफल सभापतिको छवि सुधार्न फेरि नेतृत्वमा रहने देउवाको चाहनामा यसपटक आफ्नै समूहभित्रबाट चुनौती छ । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने तयारी गरेपछि देउवालाई अप्ठेरो परेको हो ।

निकट नेताहरुले निधिलाई सहमतिमा ल्याउन नसके सभापतिका लागि हुने चुनावमा धक्का पुग्न सक्ने सुझाव देउवालाई दिएका छन् । नेता बस्नेतले आफूपछिको महत्वपूर्ण जिम्मेबारीमा रहने गरी निधिसँग सहमति गर्न सभापति देउवालाई सुझाव दिएको जानकारी दिनुभयो ।

सभापति शेरहादुर देउवाले नेतृत्वमा दोहोरिने भन्दै निकट नेताहरुसँग छलफल तीव्र पारेका बेला कांग्रेसको पौडेल समूहले भने देखिने गरी महाधिवेशन केन्द्रीत गतिविधि सुरु गरेको छैन । बरु देउवाले सभापतिमा लड्ने भनेर गरेको उद्घोषलाई पौडेल समूहका नेताहरुले हतारको घोषणा भनेका छन् ।

कांग्रेस पौडेल समूहका एक प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले आसन्न महाधिवेशनमा पुनः सभापति लड्ने भनेर देउवाले गरेको गरेको उद्घोषलाई हतारको घोषणाको संज्ञा दिनुभयो ।

नेपाली कांग्रेसलाई सिंगो कांग्रेस बनाउने भन्दा पनि सभापतिका तर्फबाट आफ्नो टिमलाई मात्रै बोलाएर भइरहेका भेलाले पार्टीको संकट नटार्ने उहाँको बुझाई छ । देउवा पार्टीलाई एकढिक्का बनाउनबाट चुकेको उहाँले आरोप लगाउनुभयो ।

१३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरर देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो । तर यसपटक देउवाका प्रतिस्पर्धी को–को रहने छन् भन्ने टुंगो लाग्न बाँकी छ ।

आफ्नै समूह व्यवस्थापन गर्नुपर्ने चुनौतीमा रहनुभएका देउवालाई सभापतिमा टक्कर दिन संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह लगायतले तयारी गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार