सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु : कोही डेढा खोज्दै, कोही सिफ्ट भइसके

२०७८ असार १० बिहीबार, काठमाडौं । संसद विघटन गरेर कामचलाउ हैसियतमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै ३ राज्यमन्त्रीसहित २० मन्त्री पदमुक्त भएका छन् ।

पछिल्लो पटक जेठ १७ र २१ गते दुई पटक पुर्नगठन गरेर कामचलाउ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पुर्णता दिनुभएको थियो । हिजो सर्वोच्चको आदेशानुसार मन्त्रीहरु पदमुक्त भएपछि पदमा बहाल रहँदा राज्यका तर्फबाट लिँदै आएको सेवासुविधा फिर्ता गरेर मन्त्रीहरु निजी निवासतिर लाग्न थालेका छन् ।

यद्यपि, प्रधानमन्त्री ओलीले भने सर्वोच्चको अन्तरिम आदेशपछि हिजो साँझ बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताउनभुएको थियो ।

ओलीले अन्तरिम आदेश आए पनि आत्तिएर निवास छाडिहाल्नु नपर्ने र गाडीसमेत झन्डा नदेखाइ प्रयोग गर्दा हुन्छ भनेर मन्त्रीहरुलाई भन्नुभएको थियो । पछिल्लोपटक नियुक्त भएका २० मध्ये १५ मन्त्री पुल्चोक निवासमा बस्दै आएका छन् । कतिपय मन्त्री तथा राज्यमन्त्रीलाई भने सरकारी निवास अपुग भएपछि निजी निवासमै बस्दै आएका थिए ।

निवर्तमान वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विकले निवास अभाव भएपछि आफू पहिलेदेखि बस्दै आएको ठाउँमै आफू बसेको र आफूले प्रयोग गर्दै आएको सवारीसधान पनि फिर्ता गरिसकेको बताउनुभयो ।

अदालतको फैसलाबमोजिम पदमुक्त भएपनि अचानक सरकारी निवास छोडिहाल्ने अवस्था नहुने कतिपय निवर्तमान मन्त्रीहरुको तर्क छ । डेढा खोज्नको लागि समेत ७ दिनको समय पाइने सर्वोच्चको फैसलापछि पदमुक्त हुनुभएका निर्वमान श्रम, रोजगार तथा समाजिक विकासमन्त्री विमलकुमार श्रीवास्तव बताउनुहुन्छ ।

प्रधानमन्त्री ओलीले पनि कुनै गलत मनसायले नभइ डेढा खोज्नेबारे जिज्ञासा राख्दा तत्काल निवास नछाड्दा हुने र गाडी प्रयोग गर्न सकिने प्रतिक्रिया दिएको निवर्तमान मन्त्री श्रीवास्तवले बताउनुभयो । तर आफू भने आजै बिहान आफ्नै डेढामा गइसकेको उहाँले बताउनुभयो ।

यता, निवर्तमान उमा शंकर अर्गरियाले पनि आफू डेढा खोज्नमा व्यस्त रहेको बताउनुभयो । निर्वमान संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री अर्गरियाले सामान प्याक गर्दै गरेको र तत्काल सर्वोच्चको फैसला समान गर्दै सरकारी निवास छाड्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्नुपर्छ भनेर आफूहरुलाई भनेकोले तत्काल डेढा खोजेर सिफ्ट हुने तयारी गरिहरहेको निर्वमान मन्त्री अर्गरियाले बताउनुभयो ।

पदमुक्त हुने सर्वोच्चको फैसाला लगत्तै प्रधानमन्त्रीले बोलाएको अनौपचारिक छलफलमा हिजो मन्त्रीहरू झन्डा हल्लाएरै बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगेका थिए । त्यस छलफलमा प्रधानमन्त्री ओलीले अन्तरिम आदेश आए पनि आत्तिएर निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएपछि विभिन्न टिक्काटिप्पणी पनि हुन थालेको थियो ।

अदालतले सबैलाई अप्रत्याशित लाग्ने गरी अन्तरिम आदेश जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आत्तिएर निवास छाडी नहाल्न र झन्डा छोपेर गाडी समेत प्रयोग गर्न मन्त्रीहरुलाई सुझाएको कुरा सार्वजनिक भएपछि आलोचनात्मक टिप्पणी हुन थालेको थियो । तर पदमुक्त भएका मन्त्रीहरु धमाधम निजी निवासतिर लागेर आफ्नो नैतिकमाथि उठ्न सक्ने प्रश्नबाट टाढै रहन सफल भएका देखिन्छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार