संवैधानिक इजलासमा आजको बहस सकियो

२०७८ असार ११ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा आजको बहस सकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गर्नुभएको हो ।

आज वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।

बहस गर्दै ,अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिबाट भएका कामकारवाही न्यायिक विषयभित्र पर्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा रिट निवेदकतर्फबाट बहस गर्दै भट्टराईले संविधानले तोकेको दायित्व निर्वाह नगर्ने पदाधिकारीलाई महाअभियोग लगाउन सकिने जिकिर गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘आफ्नो दायित्व पूरा नगर्ने राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ । त्येसैले उहाँले म कर्त्यव्य पूरा गर्दिन भन्न पाउनु हुन्न । यो मुद्दा उहाँले प्रधानमन्त्री नियुक्त नगरेको विषय हो, नियुक्त गर्दिन भन्न पाउनु हुन्न ।’

संविधान बनाउँदा राष्ट्रपति र प्रधानमन्त्री दुवैले हस्ताक्षर गरेको भन्दै भट्टराईले अहिले जवाफ पठाउँदा राष्ट्रपतिको काम अदालतको क्षेत्रमा पर्दैन भन्नु आफैंले हस्ताक्षर गरिएको संविधान र त्यसको मर्मविपरीत भएको तर्क गर्नुभयो ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नयाँ प्रधानमन्त्रीको लागि १४६ जनाको हस्ताक्षर बुझिसकेपछि राष्ट्रपतिले संसदमा गएर परीक्षण गर भन्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । अधिवक्ता दिनमनी पोखरेलले अनावश्यक रूपमा संसद् विघटन गर्न नसकियोस् भनेर संविधानमा धारा ७६ को उपधारा ५ आएको दावी गर्नुभयो ।

बहसमा भाग लिँदै अधिवक्ता सुनिल पोखरेलले विश्वासको मत नलिएको र राजीनामा नदिएको व्यक्तिले फेरि प्रधानमन्त्री दावी गर्न नमिल्ने तर्क गर्नुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार